सुर्खेत। कर्णाली प्रदेशका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बीरबहादुर शाहीले पद तथा गोपनीयताको सपथ लिएका छन्। शाही डोल्पा प्रदेश निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित सांसद् शाहीलाई गत बिहिवार मन्त्री नियुक्त गरिएको थियो।
मुख्यमन्त्री जीवनबहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले आइतबार उनलाई शपथ खुवाएका हुन्।
यसअघि २०७८ माघ २३ गते उद्योग मन्त्री बनेका हुम्लाका गैरसांसद छिरिङ डम्डुल लामा (कार्चेन) को पदावधि साउन २३ गतेखि सकिएपछि उनको ठाउँमा शाहीलाई नियुक्त गरिएको हो।
माओवादी केन्द्रको संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले उनलाई मन्त्रीका लागि सिफारिस गरेका हुन्।
बिहिवार मुख्यमन्त्री जीवनबहादुर शाहीले नियुक्त गरेपछि उनलाई शुक्रकबार नै शपथ खुवाउने तालिका बनाईएको थियो। तर उच्च अदालत सुर्खेतले मन्त्रिपरिषद पुनर्गठन गर्दा संविधानको मर्मअनुसार समावेशिता कायम नभएको भन्दै प्रदेश प्रमुख र मुख्यमन्त्री कार्यालयलाई ध्यानाकर्षण गराएपछि उक्त शपथ तालिका रोकिएको थियो।
अघिल्लो पटक माघमा पूर्णता पाएको मुख्यमन्त्री शाही नेतृत्वको सरकार समावेशी सिद्धान्तविपरित भएको भन्दै उच्च अदालत सुर्खेतमा रिट दायर गरेका थिए। सोही आधारमा बिहिवार मन्त्री नियुक्त भएलगत्तै उच्चले मुख्यमन्त्री र प्रदेश प्रमुखको ध्यानाकर्षण गराएको थियो।