सुर्खेत। कर्णाली प्रदेशमा सञ्चालित व्यवासायलाई प्रवद्र्धनमा सहयोग पुर्याउने उद्देश्यले कर्णाली साझा मञ्च स्थापनाका लागि प्रस्ताव गरिएको छ। यसका लागि सुर्खेतस्थित उद्यमी व्यवसायीहरुले ‘कर्णाली साझा मञ्च’ प्रस्ताव गरेका हुन्।
निःशुल्क रुपमा व्यवसाय सेवा केन्द्र संचालन, व्यवसायीक परामर्श, उद्योग व्यवसाय प्रवद्र्धनात्मक कार्यक्रम, उद्योगी व्यवसायीहरुलाई सीप विकास तालिम, सम्बन्धित सरकारी निकायसंगको समन्वयमा परिवर्तित सरकारी नीति नियमको जानकारी उपलब्ध गराउने लगायतका काम गर्न मञ्च स्थापना गर्न लागिएको क्यान महासंघ कर्णाली प्रदेशका निवर्तमान अध्यक्ष एवम् व्यवसायी पूर्णदेव अधिकारीले जानकारी दिए।
उनका अनुसार मञ्च संस्था दर्ता ऐन बमोजिम गैरनाफामूलक गैरसरकारी संस्थाका रुपमा दर्ता हुने छ। उक्त संस्थाले कार्यालय संचालन गरी उद्देश्य बमोजिमका कार्यहरु गर्ने छ।
प्रस्तावित कर्णाली साझा मञ्चको संयोजकमा व्यवसायी एवं सुर्खेत उद्योग वाणिज्य संघका निवर्तमान वरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्कालाई जिम्मेवारी दिईएको छ।
प्रस्तावित कर्णाली साझा मञ्चका लागि रकम संकलन कार्य समेत अघि बढेको छ। जसअनुसार दुई लाख ४० हजार रुपैयाँ संकलन भैसकेको छ। साझा मञ्चमा आवद्ध हुनका लागि स्वतस्फूर्त रुपमा कुनैपनि व्यवसायी वा व्यक्तिले सहयोग रकम उपलब्ध गराउन सक्ने व्यवसायी अधिकारीको भनाई छ।
साझा मञ्चका लागि व्यवसायी पूर्णदेव अधिकारी सहित सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कडेल, वरिष्ठ उपाध्यक्ष गणेशकुमार बस्नेत, वाणिज्य उपाध्यक्ष प्रेम रावत, उद्योग उपाध्यक्ष सिंहराज बम, महासचिव भद्र भण्डारी, कोषाध्यक्ष रामप्रसाद पाण्डे, सदस्यहरु सन्तोष बराईली, अर्जुनजंग शाही, जनक थापा, बुद्ध लामा, निवर्तमान वरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्का, पूर्व कार्यसमिति सदस्य रामप्रसाद जैशी (राजु), प्रेम भण्डारी व्यवसायीहरु रणबहादुर खड्का, बालकुष्ण भट्टराई, पोषण खरेल, रेशम शाही लगायतका व्यवसायीहरुले सो कोषमा आर्थिक सहयोग गरेका छन्।