सुर्खेत। नागरिकतामा अपमानजनक नाम लेखिएका दैलेखको मगवतीमाई गाउँपालिका–३ मेहलतोलीका कविराम कामी नागरिकताको नाम सच्याईदिन भन्दै जिल्ला प्रशासन कार्यालय पुगेका छन्।
सोमबार गृह मन्त्रालयले ‘अपमानजन शब्द प्रयोग गरी जारी भएका नागरिकता’ सच्याउन निर्देशन दिएपछि मंगलबार कविराम प्रशासनमा पुगेका हुन्। उनको नागरिकतामा ‘कुकुर कामी’ नाम लेखिएको छ। उनले आफ्नो नागरिकतामा भएको नाम सच्याउन जिल्ला प्रशासन कार्यालयमा निवेदन पनि दिएका छन्।
‘गाउँमा बोलाउने नाम कविराम नै भए पनि २०४६ सालमा तत्कालीन प्रधानपञ्चले गरेको सिफारिसका आधारमा नागरिकता टोलीले कुकुर कामी लेखेर नागरिकता दियो, यस्तो नामले हीनता र अपमान भइरहेकाले परिवर्तन गरी कविराम कामीका नाममा प्रतिलिपि पाऊँ।’ उनले निवेदनमा लेखेका छन्।
कविरामले वडा र गाउँपलिकाको सिफारिससहित प्रशासनमा निवेदन दिएका छन्। निवेदन प्राप्त भएकाले सर्जमिन बुझ्ने काम भईरहेको जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ।
उनको नागरिकताबाट अरु के प्रमाणपत्र बनेका छन् भन्नेबारे सर्जमिन लिने काम भईरहेको छ। उनको नामबाट छोराछोरीको नागरिकता बनेको भएपनि अब सच्याउन सकिन्छ।