सुर्खेत। सोमबारदेखि खाली भएको कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा बिरबहादुर शाही बन्ने बलियाे सम्भावना छ। सोमबारदेखि उद्योग मन्त्री छिरिङ डम्डुल लामा (कार्चेन) को पदावधि सकिएपछि उनको ठाउँमा कसलाई मन्त्री बनाउने भन्ने विषयमा माओवादी कर्णाली प्रदेश संसदीय दलभित्र छलफल चलिरहेकाे छ।
२०७८ माघ २३ गते मन्त्री नियुक्त भएका गैरसांसद लामाको पदावधि सोमबारदेखि सकिएको हो। सांसद नभएको व्यक्ती बढीमा ६ महिनासम्म मन्त्री बन्न पाउने व्यवस्था छ। यसकै आधारमा माओवादीले हुम्लाका लामालाई मन्त्रीमा सिफारिस गरेको थियो। माओवादी केन्द्रको सिफारिसका आधारमा मुख्यमन्त्री जीवनबहादुर शाहीले उनलाई मन्त्री नियुक्त गरेका थिए।
मूर्ती चोरी गरेको आरोपमा सजाय पाएका लामालाई मन्त्री बनाएपछि कर्णालीमा आलोचना भएको थियो। उद्योग मन्त्री अब माओवादीले नै पाउने भएको छ।
डोल्पा प्रदेश सभा (ख) बाट निर्वाचित सांसदलाई उद्योग मन्त्री बनाउने विषयमा मोटामोटी सहमति भएको माओवादी कर्णाली प्रदेश सभा दल स्रोतले बतायो। ‘खासमा सुरू दिनकाे वैठकले निर्णय गर्न सकेन, तर बिरबहादुर शाहीको मन्त्री बन्ने मोटामोटी रुपमा आन्तरिक सहमति भएको छ,’ स्रोतले भन्याे।
माओवादीका कर्णाली प्रदेश सदस्य ११ जनामध्ये अब तीन जना मात्र मन्त्री बन्न बाँकी छ। रुकुमका रातो कामी, जाजरकोटका कृष्णा शाह र डोल्पाका बिरबहादुर शाही मात्र मन्त्री बन्न बाँकी छ।