सुर्खेत। मुगुको छायाँनाथ रारा नगरपालिका–७ मा टुजेमीदेखि बाबुकाँधसम्मको पर्यटन पदमार्ग निर्माण गर्ने क्रममा भ्रष्टाचार गर्ने डिभिजन वन कार्यालयका कर्मचारी र उपभोक्ता समितिका पदाधिकारी विरुद्व विशेष अदालतमा मुद्दा दायर भएको छ।
तत्कालीन डिभिजनल वन अधिकृत भरत बहादुर बुढाथापा, सव–इन्जिनियर गोरसिंह बडुवाल र असिष्टेन्ट सव इन्जिनियर हिमाल कुमार मल्लविरुद्व ६ लाख ३२ हजार ६७७ रुपैयाँ बिगो दावी गरी मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।
उनिहरुले आर्थिक वर्ष २०७६/०७७ मा पर्यटन पदमार्ग निर्माण गर्ने क्रममा वास्तविक कामभन्दा बढी नभएको कामलाई गैरकानुनी लाभ प्राप्त गर्ने बदनियतले गलत नापी किताव, उपभोक्ताको बिल र कार्यसम्पन्न प्रतिवेदन तयार गरी रकम भुक्तानी गरेको अख्तियारद्वारा कसूर ठहर गरिएको छ।
साथै, उपभोक्ता समितिका अध्यक्ष मानबहादुर शाही, सचिव धर्मेन्द्र शाही र कोषाध्यक्ष कुशुमदेवी शाहीविरुद्व पनि ६ लाख ३२ हजार ६७७ रुपैयाँ नै बिगो दावी गरिएको छ। उनिहरुले वास्तविक रुपमा नभएको कामलाई नापी किताव, कार्यसम्पन्न प्रतिवेदन र उपभोक्ता समितिको बिल बढी चढाउन लगाई गैरकानुनी लाभ लिने बदनियत राखेको कसूर ठहर गरिएको छ।