काठमाडौं। बाल विकास शिक्षकहरूलाई उचित पारिश्रमिक दिन माग गरिएकाे छ। शुक्रबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै सांसद पार्वती विशुंकेले संविधानको व्यवस्थाबमोजिम नियुक्त भएका बाल विकास शिक्षकहरूको श्रमशोषण गरिएकाे भन्दै उनिहरूलाई उचित पारिश्रमिक दिन माग गरेकी हुन्।
उनले बाल विकास शिक्षकहरूलाइ सरकारले दिन्छु भनेको तलब भत्ता नपाएर बाल विकास कक्षा नै बन्द गर्नुपर्ने र शिक्षकहरूआन्दोलित हुनुपर्ने अवस्थामा पुगेको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।
‘संविधानको धारा ३९ ९२ र ३० मा बालबालिकाको सर्वाङ्गिण तथा प्रारम्भिक विकास र सहभागिता सम्बन्धी प्रष्ट व्यवस्था छ । त्यहीअनुसार शिक्षा ऐन र विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रमले ४ वर्ष भन्दा मुनिका बालबालिकालाई बाल विकास केन्द्रबाट शारीरिक, मानसिक, संवेगात्मक र सामाजिक विकास तथा स्याहारका क्रियाकलाप गर्ने व्यवस्था गरेको छ’ उनले भनिन्,’सरकारले ५ बर्ष मुनिका बालबालिकाको समग्र विकासका गर्नका लागि बाल विकास केन्द्र सन्चालन गरेको छ, त्यहाँ पढाउने शिक्षकलाई सुविधा दिएको छैन ।’
हाल देशभर करिब ३० हजार बाल विकास शिक्षक छन् । उनीहरूको मासिक पारिश्रमिक ६ हजारमात्रै छ । सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेटमै संघीय सरकारले उनीहरूको पारिश्रमिक वृद्धि गरेर १५ हजार पुर्याउने घोषणा गरे पनि त्यसको कार्यान्वयन भएको छैन ।
संघीय सरकारले ८ हजार केन्द्रबाट उपलब्ध गराउने र बाँकी ७ हजार स्थानीय सरकारले बेहोर्नुपर्ने व्यवस्था गरे पनि स्थानीय तहले संघको त्यस्तो निर्णय स्वीकारेका छैनन् ।
‘कुन सरकारले के गर्ने हो रु त्यो गर्नुपर्यो । कम्तिमा बाल विकास शिक्षकले अहिलेको परिस्थिति सुहाउँदो पारिश्रमिक पाउनुपर्छ । बालबालिकालाई असल ज्ञान दिने सहजकर्ताले आन्दोलन गर्ने कि उनीहरूलाई सिकाउने दोधारको अवस्था सिर्जना नगरियोस्’ सांसद विशुंकेले भनिन्।