सुर्खेत । गुडिरहेको बसमा ढुंगा खस्दा एक जनाको मृत्यु भएको छ। सडकमाथिबाट खसेको ढुंगा बसमाथी खसेर भगवतीमाई गाउँपालिका–२ का १७ वर्षीय पार्वती शाहीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी सुरज कार्कीका अनुसार रत्न राजमार्गको छिन्चु–धुलियाबिट सडक खण्डको भेरीगंगा नगरपालिका–२ पैसठ्ठीमा काठमाडौंबाट सुर्खेत आउँदै गरेको ना ७ ख ५८११ नम्बरको बसमा ढुंगा खसेको हो।
सवारी चालकभन्दा पछाडीको सिट बसेका मृतक शाही र वीरेन्द्रनगर–६ का ४५ वर्षीय राजकुमारी सुनार घाइते भएका थिए। टाउकोमा गम्भीर चोट लागेकोले शाहीको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको डिएसपी कार्कीले बताए।
घाइते सुनारको दाइने कानमा चोट लागेको र अवस्था सामान्य रहेको छ।
गाडीमा ३१ जना सवार रहेको गाडी र चालक वीरेन्द्रनगर नगरपालिका–३ का २९ वर्षीय नमबहादुर रोकायालाई प्रहरीको नियन्त्रणमा छन् ।