सुर्खेत। नेकपा एमालेका महासचिव शंखर पोखरेलले नेकपा एमालेले कर्णाली प्रदेश सरकारको नेतृत्व लिन नपाएकाले कर्णालीका जनताले संघीयताको फाइदा लिन नसकेको बताएका छन्। सुर्खेतमा आयाेजितकाे पार्टीकाे कार्यक्रममा सम्बाेधन गर्दै महासचिव पाेखरेलले यस्ताे बताएका हुन्।
‘एमालेले कर्णालीको सरकारको नेतृत्व गर्न पाएको भए यहाँको रूपरंग फेरिन्थ्यो,’ उनले भने, ‘कर्णाली पछाडि पर्नुमा एमाले जिम्मेवार होइन। अबका दिनमा एमालेले नेतृत्व लिएर कर्णालीको समृद्धिको लागि अघि बढ्नेगरी लाग्न म यहाँका नेता तथा कार्यकर्ताहरूलाई आग्रह गर्दछु।’
नेकपा एमालेको बलियो किल्लाका रूपमा कर्णालीलाई स्थापित गर्न महासचिव पोखरेलले कार्यकर्ताहरुलाई आग्रह गरेका छन्।
पोखरेलले नेकपा विभाजन भइसकेपछि नेकपा एमालेमात्रै नेकपाको निरन्तरता भएको दाबी गरे। उनले माओवादी र समाजवादीका नेताहरुलाई एमालेमा फर्किन र बलियो कम्युनिष्ट आन्दोलन निर्माण गर्न आवश्यक रहेको बताए। ‘हिजो संविधान निर्माणपछि अब नेपालको राजनीति विकास र समृद्धिमा होमिनेछ र हाम्रो प्रतिस्पर्धा कांग्रेससँग हुनेछ भनेर निष्कर्ष निकालेका थियौं’, उनले भने, ‘तर, केही तत्वले नेकपाभित्र विग्रह पैदा गरे । पार्टी अध्यक्षविरुद्ध मोर्चाबन्दी गर्ने, घेराबन्दी गर्ने काम भयो । त्यसपछि एउटा पार्टीको नेता प्रचण्ड बन्नुभयो । अर्को पार्टीको नेता माधव नेपाल बन्नुभयो । नेकपा एकताको पक्षमा छैनन् भनेर अध्यक्ष ओलीमाथि आरोप लगाइयो ।’
उनले प्रचण्डले नेतृत्व गरेको माओवादीमा माओवादीमात्रै भएको र माधव नेपालले नेतृत्व गरेको पार्टीमा एमालेमात्रै देखिएको बताए । जनताले बनाएको संविधानको आधारमा राष्ट्र निर्माणको अभियान पूरा गर्नुपर्ने देखिएको बताए । तर सत्ता गठबन्धनले त्यसको उल्टो गर्दै आइरहेको उनले आरोप लगाए ।
‘गठबन्धनको न कुनै लक्ष्य छ न त उद्देश्य छ । निश्चित स्वार्थको झुण्ड हो यो । यसको एकैमात्र उद्देश्य नेकपा एमालेलाई रोक्नेमात्रै छ’, महासचिव पोखरेलले भने, ‘हिजो नेकपामा हुँदा हरेक कदमको विरोध गर्ने प्रचण्ड र माधव अहिले ती सबै कुराको खुलेर सर्मथन गर्दै आइरहेक छन् । एमसीसीदेखि नागरिकता विधेयक पारितसम्मका घटनाक्रमले त्यो कुरा पुष्टि गरेको छ ।’