सुर्खेत। नेकपा एमालेको महासचिव शंखर पोखरेलले पार्टीभित्र अवसरवादी प्रवृत्ति मौलाएको बताएका छन्। सुर्खेतमा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले पार्टीभित्रका नेता कार्यकर्ताहरुको आचरण विग्रिन थालेको बताए।
‘हाम्रा नेता कार्यकर्ताको बानी विग्रेको रहेछ। टिकट पाए जिताउछु भन्नुपर्ने ठाउँमा म भए ठिक, नभए बेठीक भन्ने प्रवृत्ति देखा प¥यो’ स्थानीय तह निर्वाचनको समिक्षा गर्दै महासचिव पोखरेलले भने, ‘यो कम्युनिष्ट आचरण होइन। एमालेमा पनि अवसरवादी प्रवृत्ति मौलाए छ।’
उनले एमाले कार्यकर्तामा तीन प्रकारको प्रवृत्ति हावी हुँदै गएको बताए। ‘तीन प्रकारका स्वभाव देखिएका छन्। एक–टिकट नपाएर चित्त दुखे घरै बस्ने, दोस्रो–प्रचार गर्न सँगसँगै हिड्ने तर जिताउन गाह्रो छ भन्ने र तेस्रो–उसलाई (टिकट पाएको उम्मेदवार) जित्न दिदैन भन्ने तयारी गर्ने।’ उनले भने, ‘यसखालको प्रवृत्तिले एमालेको दुई तीन प्रतिसत भोट विग्रिएको छ।’ यी सबै प्रवृत्तिलाई त्याग्न सके जुनसुकै गठबन्धनलाई पनि परास्त पार्न सकिने बताए।
स्थानीय तह निर्वाचनमा काँग्रेसले गठबन्धनको साहरामा पहिलो पार्टी भएपनि पार्टीको एकल मतका हिसाबले एमाले पहिलो भएको दावी गरे। उनले अघिल्लो स्थानीय तह निर्वाचनमा ३३ प्रतिसत मत प्राप्त गरेको एमालेले अहिले ३४ प्रतिसत मत ल्याएको बताए ।
निर्वाचनमा प्रहरी प्रशासनको दुरुपयोग भएको उनले आरोप लगाए। आम निर्वाचनमा यसरी प्रहरी प्रशासनको दुरुपयोग अब हुन नसक्ने बताए।