सुर्खेत। नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४औं स्मृति दिवसमा वृक्षारोपण गरिएको छ। नेकपा (एमाले) वीरेन्द्रनगर–५ वडा कमिटीको आयोजनामा कालीका मन्दिर वैद्यडाँडा पदमार्ग आसपासमा विरुवा रोपिएको हो।
वृक्षारोपण तथा श्रद्धाञ्जली कार्यक्रमका प्रमुख अतिथि नेकपा ‐एमाले)का स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले कम्युनिष्ट पार्टी निर्माणमा श्रेष्ठको योगदानको चर्चा गरे। वडा कमिटीले महान व्यक्तिको सम्झनामा वृक्षारोपणजस्ता रचनात्मक काम गरेको भन्दै नेता कँडेलले धन्यवाद दिए।
पुष्पलाल स्मृतिमा वैद्यडाँडा पदमार्ग क्षेत्रमा ६ सय विरुवा रोपिएको छ। हर्रो, अमला, बेलपत्र, गुलमोहरलगायतका विरुवा रोपिएका हुन् । वडा कमिटी अध्यक्ष बासु आचार्यले कम्युनिष्ट आन्दोलनका संस्थापक नेताको सम्झनामा वृक्षारोपण तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको जनाए ।
उनले पुष्पलालको राजनीतिक व्यवहार र आदर्शलाई सबैले सधैँ सम्झना गरिरहनुपर्ने बताए। वृक्षारोपण कार्यक्रममा नेकपा (एमाले) का विभिन्न तहका नेता, प्रदेशसभा सदस्यहरु, नगर तथा वडाका जनप्रतिनिधि, व्यवसायी र नागरिक समाजका अगुवाहरुको उपस्थिति रहेको थियो।
१५ असार १९८१ मा रामेछापको भँगेरीमा जन्मिएका श्रेष्ठको ७ साउन २०३५ मा उपचारका क्रममा भारतमा निधन भएको थियो। पुष्पलालले जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ १० वैशाख २००६ मा नेकपा स्थापना गरेका थिए। पुष्पलाल, नरबहादुर कर्माचार्य, निरन्जनगोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठको सक्रियतामा नेकपा स्थापना भएको थियो। श्रेष्ठको स्मृति दिवसका अवसरमा हरेक वर्ष विविध कार्यक्रम गरिँदै आएको छ।
तस्विरहरूः