नविन शाही, सुर्खेत। कर्णाली प्रदेश सरकारद्वारा गाई खरिदका लागि दिएको अनुदान फिर्ता लिनुपर्ने महालेखापरिक्षण (मलेप) को प्रतिवेदनमा लेखिएको छ। भेटनरी अस्पताल तथा पशु सेवा कार्यालय दैलेखले भगवतीमाइ गाउँपालिका-३ स्थित ग्रामिण कृषि बहुउद्देश्यीय सहकारी संस्थालाई गाई खरिदका लागि दिएको ७० लाख अनुदान फिर्ता लिनुपर्ने जनाएको हो।
पशु सेवा कार्यालय दैलेखले आर्थिक वर्ष २०७७/७८ मा एक सय गाई खरिदका लागि सहकारी संस्थालाई ७० लाख रुपैयाँ अनुदान दिएको थियो। संस्थाले होलिस्टेन जर्सी गाई वितरण गर्नुपर्नेमा अन्य प्रजातीका गाई वितरण गरेको समाचार सञ्चारमाध्यममा समेत प्रकाशन भएको थियो।
उक्त सहकारी संस्थाले कृषकबाट जनही १५ हजार र पालिकाबाट पाँच लाख अनुदान समेत लिएको थियो। ‘उन्नत जातको १० लिटरसम्म दुध दिने गाई खरिद गर्ने उल्लेख भएकोमा २ लिटर मात्र दुध दिने स्थानीय गाई खरिद गरी वितरण गरेकोले कृषकले अपेक्षित प्रतिफल प्राप्त गर्न सकेका छैनन्। यससम्बन्धमा तालुक निकायले यथार्थता छानविन गरी उक्त अनुदान फिर्ता गनुपर्दछ।’ महालेखापरिक्षणको प्रतिवेदनमा लेखिएको छ।