सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र नेपालका लागि स्वीट्जरल्याण्डकी राजदूत एलिजाबेथ वोन क्यापलरबीच भेटवार्ता भएको छ।
मंगलबार बिहान उनीहरूबीच शिष्टाचार भेटवार्ता भएको मुख्यमन्त्री शाहीको निजी सचिवालयले जनाएको छ।
भेटका क्रममा नेपालमा संघीयताको कार्यान्वयनको अवस्था, सशस्त्र द्वन्द्वका पीडितहरूलाई परिरहेको मानसिक स्वास्थ्य समस्या, कर्णालीको सडक गुरूयोजना लगायतका विषयमा छलफल भएको सचिवालयले जनाएको छ।
स्वीट्जरल्याण्ड सरकारको सहयोगमा कर्णालीमा सञ्चालित मानसिक स्वास्थ्य कार्यक्रमको विषयमा पनि छलफल भएको छ।
स्वीट्जरल्याण्ड सरकारको सहयोगमा सिएमसी नेपालले कर्णालीका तीन जिल्लाका ६ वटा पालिकामा मानसिक स्वास्थ्य परामर्श कार्यक्रम सञ्चालन गरिएको छ।
भेटका क्रममा राजदूत क्यापलरले द्वन्द्व पीडितहरूका बारेमा कर्णाली प्रदेश सरकारले गरिरहेका कामहरूको बारेमा चासो राखेकी थिइन्।
भेटमा मुख्यमन्त्री शाहीले प्रदेश सरकारले द्वन्द्व पीडितका लागि राहत, उपचार र मानसिक स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण कामहरू गरेको जानकारी गराए।
‘द्वन्द्व पीडितको सवालमा कर्णाली प्रदेश सरकार गम्भीर छ, राहत, जीवन निर्वाह भत्ता, औषधोपचार, मानसिक स्वास्थ्य उपचार र परामर्शमा हामीले काम गरिरहेका छौं,’ मुख्यमन्त्री शाहीले भने।
मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको सडक गुरूयोजना निर्माण अन्तिम चरणमा रहेको राजदूत क्यापलरलाई जानकारी गराएको निजी सचिवालयले जनाएको छ।