सुर्खेत । सुर्खेतमा बर्डफ्लुको संक्रमण पुष्टि भएको छ। वीरेन्द्रनगर नगरपालिका ३ मा सञ्चालित एग्रो फर्ममा टर्कीको नमूना परीक्षण गर्दा बर्डफ्लू संक्रमण पुष्टी भएको हो।
एकै दिन एक सय टर्की मरेपछि कृषकले पशुपन्छी विकास निर्देशनालयलाई जानकारी गराएका थिए।
बुधबार गरिएको नमुना परिक्षणका क्रममा बर्डफ्लु संक्रमण देखिएको पुशपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतका प्रमुख डा. विकास श्रेष्ठले जानकारी दिए।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले संक्रमण पुष्टि भएको क्षेत्रलाई बर्डफ्लु संक्रमण क्षेत्र समेत घोषणा गरेको छ। प्रशासनमा आज बसेको प्राविधिक समितिको आकस्मिक बैठकले क्षेत्र निर्धारण गरेको हो।
संक्रमित क्षेत्रभित्र पूर्वमा हरिडिलभूमि माध्यामिक विद्यालय जाने बाटो, पश्चिममा रानाटोलको कालोपत्रे बाटो, उत्तरमा जुम्लारोड र दक्षिणमा रानाटोलको ग्राभेल बाटो भित्रको क्षेत्र रहेको छ।
यी क्षेत्रमा बसोबास गर्ने मानिसहरुले कम्तिमा ४२ दिनसम्म पन्छीको प्रत्यक्ष सम्पर्कमा नहुने, साबुन पानीले हात धुने, माक्सको अनिवार्य प्रयोग गर्ने लगायतका सतर्कता अपनाउन डा. श्रेष्ठको सुझाव छ।