सुर्खेत । नेपाली सेनाले विद्यालयको भवन निर्माण गरिदिएको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका–१४ कृष्णनगरस्थित जनसंयुक्त आधारभुत विद्यालयको भवन निर्माण गरिदिएको हो ।
नेपाली सेनाको पश्चिम कमाण्ड हेडक्वाटर अन्र्तगत २८ लाख ९१ हजार र अनय दातृ निकायको सहयोगमा ७० लाख लागतमा विद्यालय भवन निर्माण गरिएको हो ।
जीर्ण विद्यालयमा पठन–पाठन गर्न बाध्य यो विद्यालयमा अब भने ४ कोठे पक्की भवनमा कक्षा सञ्चालन हुने छन् । २०५२ सालमा स्थापना भएको यो विद्यालयका भौतिक पूर्वाधारमा निके कमजोर थियो । जसकारण विद्यालय मर्ज हुने अवस्थामा थियो ।
स्थानीय गजेन्द्र राना मगरले उक्त विद्यालयमा स्वंयम्सेवक शिक्षकका रुपमा पठन–पाठन गराउन थालेपछि विद्यालय शैक्षिक रुपमा सुधारोन्मुख भएपनि भौतिक पूर्वाधारमा कमजोर बनेको स्थानीयको भनाई छ । भौतिक संरचनामा समेत सेनाले बलियो भवन बनाईदिएपछि स्थानीय थप उत्साहित बनेका छन् ।
यस्तो थियो सेनाको कदम
गजेन्द्र सर र विद्यालयको समस्याबारे थाहा पाएपछि नेपाली सेनाको पश्चिम हेडक्वाटर सुर्खेतका कमाण्ड सेनापति उपरथी प्रेम शाहीले विद्यालय रहेको स्थानको पहिचान गर्न आफ्ना सैनिकहरुलाई खटाए । अन्तत विद्यालय रहेको स्थान र विद्यालयको अवस्था दयनिय रहेको पुष्टी भएपछि विद्यालयको दुई कोठे भवन निर्माण गर्ने योजना बनाउन कमण्ड सेनापति शाहीले निर्देशन दिए । शुक्रबार नवनिर्मित भवन हस्तान्तरणमा समारोहमा पनि कमाण्ड सेनापति शाहीले भने, ‘देशको आन्तरिक र बाह्य सुरक्षादेखी विकास निर्माणमा सेनाले आफ्नो भूमिका निर्वाह गरिरहेकै थियो । सोही क्रममा यो विद्यालयको व्यथा थाहा पाएपछि निर्माण गरिदिने निर्णयमा पुगेका हौं ।’
एक तलाको भवन निर्माण गरेपछि नेपाली सेनालाई स्थानीय र विद्यालयले दोस्रो तला थपिदिन आग्रह गरेका थिए । नागरिक र सेनाविचको सम्बन्धलाई फराकिलो बनाउने उदेश्यले अर्को तला निर्माण गरिदिएको शाहीले उल्लेख गरे । भवन निर्माणमा कालीबक्स गण (ईन्जिनियर) बाट जनशक्ति खटिएको थियो । गणबाट खटिएका ३५ जना विभिन्न दर्जाका प्राविधिकहरुले ११५ दिनमा विद्यालयको भवन निर्माण गरेको हो । निर्माण सम्पन्न भएको विद्यालय पश्चिम कमाण्ड सेनापति शाही र गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनले हस्तान्तरण गरेका छन् ।
‘यस्ता परियोजनाबाट नागरिक–सैनिक सम्बन्ध विस्तार मात्र नभई शिक्षा क्षेत्रको विकासका लागि पनि टेवा पुग्ने आशा व्यक्त गरेको छु,’ शाहीले भने, ‘आगामी दिनहरुमा आवश्यकताका आधारमा सेनासँग सहयोगको माग गरेको खण्डमा सामाजिक कार्यलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्दछु ।’ सेनाको सानो प्रयासले विद्यालयका कलिला बाल–बालिकाहरुको मस्तिष्कमा नेपाली सेनाप्रति सकारात्मक सोच विकास हुनेमा शाही विश्वस्त छन् ।
भवन हस्तान्तरण समारोहमा पुगेका गुर्भाकोट नगरपालिका प्रमुख पुनले देशको सुरक्षा गर्ने जिम्मा लिएको सेनाले गरेको सामाजिक कार्यले जनतामा सकारात्मक सन्देश प्रवाह भएको उल्लेख गरे । नगर क्षेत्रभित्र रहेका हरेक विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर सुधारमा आफू लागि परेको उल्लेख गर्दै पुनले भने, ‘सामुदायिक विद्यालयलाई आवश्यक थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’ गुर्भाकोटमा सामुदायिक विद्यालय २८ ओटा रहेका छन् ।