सुर्खेत । कर्णाली प्रदेशको आर्थिक विनियोजन विधेयक २०७९ को सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिबारे सैद्धान्तिक छलफलका लागि प्रदेश सभामा पेश भएको छ । सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले शुक्रबार सभामा पेश गरेका हुन् ।
आगामी आर्थिक वर्ष २०७९/०८० बजेट ल्याउनु पूर्व विनियोजन बजेटका सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिबारे सैद्धान्तिक छलफल गर्न लागिएको हो । छलफलका लागि आगामी जेठ १६ र १७ गते प्रदेश सभाको अर्को बैठक बस्ने भएको छ ।
मन्त्री विष्टका अनुसार प्रदेश सरकारले आगामी आर्थिक वर्षलाई अधुरा आयोजना सम्पन्न वर्षको रुपमा लिने भएको छ । प्रदेशको सन्तुलित विकासको लागि सडक, पुल, सिँचाई, खानेपानी, स्वास्थ्य र शिक्षा लगायतका आयोजनाहरु सम्पन्न गर्न पर्याप्त रकम विनियोजन गरिने भएको हो ।
नयाँ र दीर्घकालीन महत्वका आयोजना प्रस्ताव गर्दा सो को विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय अध्ययनको आधारमा बहुवर्षीय आयोजनाको रुपमा स्वीकृत गरी कार्यान्वयन गर्न बजेट प्राथमिकतामा राखिने मन्त्री विष्टले बताए ।
मन्त्री विष्टले प्रस्तुत गरेकाे पूर्णपाठ