सुर्खेत । शुल्क वृद्धि गरिएको भन्दै विद्यार्थी आन्दोलित बनेका छन् । त्रिभूवन विश्व विद्यालयको आंगिक क्याम्पस सुर्खेत बहुमुखी क्याम्पसले विद्यार्थीको शुल्क वृद्धि गरेको भन्दै आन्दोलन भएको हो ।
क्याम्पसले जेठ ५ गतेदेखि लागु हुनेगरी शुल्क बढाएको छ । बिबिएस तर्फ आठ पाँच सयबाट बढेर १२ हजार पाँच सय, बिएडतर्फ सात हजारबाट बढेर नौं हजार, विज्ञानतर्फ १२ हजार पाँच सयबाट बढेर २० हजार र एमएडतर्फ १४ हजारबाट बढेर १८ हजार शुल्क पुगेको छ ।
शुल्क वृद्धि राेक्न क्याम्पसमा क्रियाशिल विद्यार्थी संघ/संगठनले मंगलबार २४ घण्टे अल्टिमेटम दिएका थिए । माग सम्बोधन नभएपछि उनिहरुले बुधबार क्याम्पसको लेखा शाखामा तालाबन्दी गरिदिएका छन् ।
क्याम्पसमा क्रियाशिल नेबि संघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी र नेपाल क्रान्तिकारी विद्यार्थी संघले संयुक्त रुपमा विरोध जनाएका हुन् ।
क्याम्पसले नीजि शैक्षिक संस्थाको जसरी अनियन्त्रित रुपमा गरिएको शुल्क वृद्धि रोक्नुपर्ने विद्यार्थीको माग राखिएकाे अखिल क्रान्तिकारीका नेता राजन राेकायाले बताए ।
क्याम्पसले तत्काल उक्त निर्णय नसच्चाएमा थप विरोध संघर्षका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिइएको अनेरास्ववियुका विद्यार्थी नेता भवानी ढकालले जानकारी दिए ।
बिहिबार विहान १० बजेसम्म माग सम्बोधन नभए बिहिबारै बिहान ११ बजे क्याम्पस प्रशासनमा समेत तालाबन्दी गरिने तयारी भएको नेता ढकालले बताए ।
नियमानुसार नै शुल्क उपयुक्त शुल्क वृद्धि गरिएको क्याम्पस प्रशासनले जनाएको छ । ‘शिक्षा संकायबाहेकका अन्य विषयहरु क्याम्पसको आन्तरिक स्रोतबाट सञ्चालन गरिएको छ । यसका लागि केही हदसम्म वार्षिक शुल्क बढाउन बाध्य छ ।’ क्याम्पस प्रमुख माधवप्रसाद खनालले भने, ‘शुल्क निर्धारण गर्नु अगावै विद्यार्थी संघ/संगठन र सरोकारवालाहरुसँग बसेर छलफल समेत भएको थियो । सोही अनुसार शुल्क वृद्धि भएको हो ।’
साथै, प्रमुख खनालले नयाँ कार्यक्रम थपेर शैक्षिक सुधार गर्ने क्रममा संङ्घीय सरकार र कर्णाली प्रदेश सरकारसँग सहयोग माग्दा समेत उपलब्ध नभएपछि विद्यार्थीहरुको शुल्क बढाउन बाध्य बनाएको जानकारी दिए ।