दैलेख (महाबु) । दैलेखको महाबु गाउँपालिकामा बहुमत कार्यपालिका सदस्य सहित नेपाली कांग्रेस विजय भएको छ । गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका लक्षमण गुरुङ्ग र उपाध्यक्षमा मन्जु पाण्डे विजय भएका हुन् ।
अध्यक्षमा विजयी गुरुङ्गले दुई हजार नौं सय ७९ मत लिएका छन् ।
निर्वाचन अधिकृत विरेन्द्रबहादुर केसीका अनुसार गुरुङ्गका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका हरिप्रसाद उपाध्यायले दुई हजार पाँच सय १९ मत लिए भने नेकपा एकिकृत समाजवादीका जंगबहादुर शाहीले दुई हजार दुई सय ६८ मत लिए ।
यसैगरि, उपाध्यक्ष पदमा विजयी पाण्डेले तीन हजार एक सय ५५ मत लिईन् ।
उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेकी दुर्गाकुमारी सिंहले दुई हजार तीन सय एक मत र नेकपा एकिकृत समाजवादीका पुन्यप्रभा दशौदीले दुई हजार एक सय ३३ मत लिईन् ।
६ वडा रहेको महाबु गाउँपालिकामा तीन वडामा विजय हासिल गरेको छ भने नेकपा माओवादी केन्द्रले दुई वडा र नेकपा एमाले एक वडामा विजय भएको छ ।
महाबु गाउँपालिका–१ मा नेकपा एमालेका सर्वराज सार्की विजय भएका छन् । उनले ६ सय ९२ मत ल्याए भने उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका सूर्यराम सावदले ६ सय ३६ मत प्राप्त गरे ।
यसैगरि नेकपा माओवादी केन्द्रका दलबहादुर सुनारले ४४ मत र राप्रपाका गगन बहादुर थापाले ११ मत प्राप्त गरे ।
महाबु गाउँपालिका –१ को महिला सदस्यमा एमालेबाट सरस्वती रोकाय, दलित महिला सदस्यमा हरिकला सुनार, सदस्यमा जय बहादुर गुरुङ्ग र बलबहादुर वयक विजय भएका छन् । यो वडामा नेकपा एमालेको प्यानल विजय भएको हो ।
यस्तै, प्राप्त मत परिणाम अनुसार महाबु गाउँपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसका प्रकाशराज थापा विजय भएका छन् । उनले आठ सय ४८ मत प्राप्त गरे । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका तिर्थबहादुर रावतले चार सय ९९ मत र नेकपा एकिकृत समाजवादीका भक्त बहादुर खत्रीले १२ मत प्राप्त गरे ।
महाबु गाउँपालिका–२ मा महिला सदस्य पदमा बसन कुमारी खत्री, दलित महिला सदस्यमा पशुपति सुनार र सदस्यमा चक्र बहादुर बडुवाल र रामकृष्ण गुरुङ्ग विजय भए । यो वडामा नेपाली कांग्रेसको प्यानल विजय भएको हो ।
महाबु गाउँपालिका–३ मा नेपाली कांग्रेसका कृष्णकुमार दाहाल विजय भएका छन् । उनले ६ सय ९५ मत प्राप्त गरेका छन् । दाहालका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका चन्द्र प्रसाद दाहालले ६ सय ३६ मत लिए भने एकिकृत समाजवादीका देउचन्द्र विष्टले तीन सय सात मत लिए ।
यस्तै, महाबु गाउँपालिका–३ को सदस्यमा कृष्णादेवी जैशी, डिलबहादुर खड्का, नरेन्द्र बोहोरा र पुनम नेपाली विजय भएका छन् । यो वडामा नेपाली कांग्रेसको प्यानल विजय भएको हो ।
महाबु गाउँपालिका– ४ मा नेपाली कांग्रेसबाट रामबहादुर शाही विजय भएका छन् । उनले तीन सय ८६ मत प्राप्त गरे । शाहीका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका विनोद कुमार बुढाले तीन सय ७४ मत लिए भने राजबहादुर शाशीले दुई सय दुई मत प्राप्त गरे ।
यस्तै, महाबु गाउँपालिका –४ को सदस्यमा हर्कबहादुर विष्ट र पूर्ण प्रसाद जैशी विजय भए भने दलित महिला सदस्यमा दिपा सुनार र महिला सदस्यमा मनकला सलामी विजय भईन् । यो वडामा नेपाली कांग्रेसको प्यानल विजय भएको हो ।
महाबु गाउँपालिका–५ मा नेकपा माओवादी केन्द्रका दिप बहादुर शाही विजय भएका छन् । उनले ६ सय ९९ मत प्राप्त गरे । शाहीको निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका सुर्य बहादुर शाहीले दुई सय ३० मत लिए भने नेपाली कांग्रेसका लाल बहादुर शाहीले एक सय २४ मत लिए ।
यस्तै, महाबु गाउँपालिका–५ मा नेकपा एकिकृत समाजवादीका गणेश बहादुर शाही र नन्ने सार्की सदस्य पदमा निर्वाचित भए भने नेकपा माओवादी केन्द्रबाट दलित महिला सदस्यमा लक्षीमा सुनार र महिला सदस्यमा समाजवादीबाट कविता कुमारी गिरी विजय भईन् । यो वडामा नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादीबीच गठबन्धन भएको थियो । सोही बमोजिम गठबन्धनको प्यानल विजय भएको हो ।
यस्तै, महाबु गाउँपालिका –६ मा नेकपा माओवादी केन्द्रका रेशम बहादुर थापा मगर विजय भए । उनले चार सय १२ मत प्राप्त गरे । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका हर्कबहादुर शाहीले तीन सय ९७ मत, एमालेका रक्ष बहादुर मगरले तीन सय ५९, नेमकिपाका राम बहादुर शाहीले १३ मत, राप्रपाका पदमबहादुर सिंहले ६ मत प्राप्त गरे ।
महाबु गाउँपालिका–६ को महिला सलदस्यमा नेपाली कांग्रेसबाट पवित्रा कुमारी गिरी, कांग्रेसकै नन्दाकुमारी विक र सदस्यमा कांग्रेसका नवराज जैशी र एकिकृत समाजवादीका दल बहादुर कामी विजय भए ।