सुर्खेत । आसन्न बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सरगर्मी बढिरहेको छ । राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरु चुनावी प्रचार–प्रसार जुटिरहेका छन् । तर, निर्वाचन आचारसंहितालाई उम्मेदवार र सम्वद्ध दलले कार्यान्वयन गरेको देखिदैन ।
वीरेन्द्रनगर नगरपालिकामा निर्वाचन आचारसंहिता विपरीत उम्मेदवारहरू आ–आफ्ना चुनावी प्रचार गरिरहेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), राप्रपालगायत दलका साथै स्वतन्त्र उम्मेदवारहरुले समेत आचारसंहिता विपरीत चुनावी प्रचार गरिरहेका हुन् ।
उनीहरुले पार्टीको झण्डाका साथै चुनाव चिन्ह अंकित तुल, ब्यानर बोकेर जुलुस प्रदर्शन गर्दै घरदैलो गरेका छन् । जुन राजनीतिक दल, उम्मेदवार तथा दलको भ्रातृ संगठनले पालना गर्नुपर्ने आचरण विरित छ ।
निर्वाचन आचारसंहिताको बुंदा नम्बर १२ मा यसरी प्रदर्शन गरिने जुलुसमा पार्टीको झण्डा र निर्वाचन चिन्ह प्रयोग गर्न बन्देज लइगाएको छ ।
निर्वाचन आचारसंहिताको बुंदा १२ को (घ) मा जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिन्ह, झण्डा, अंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने उल्लेख छ ।
तर उम्मेदवारहरुले गाउँ, टोलमा पार्टीको झण्डा, निर्वाचन चिन्ह र माइकिङ गर्दै दैनिक रुपमा जुलुस तथा प्रदर्शन गर्दै घरदैलो गरिरहेका छन् । विशेषगरि वीरेन्द्रनगर नगरपालिकामा दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेसहित राप्रपाले आचारसंहिता विपरितका कार्यहरु गरेको पाइएको छ ।
निर्वाचन आचारसंहिताको बुंदा १२ को (ढ)मा कुनैपनि उम्मेदवारले आफ्नो कार्यालय बाहेकका स्थानमा झण्डा, दल वा उम्मेदवारको चुनाव चिन्ह, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेकस र ग्लुसाइन बोर्ड राख्न तथा श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्रीहरु प्रदर्शन गर्न नहुने उल्लेख छ । तर, वीरेन्द्रनगरमा भने उम्मेदवारहरुले आ–आफ्ना दलका झण्डा, फ्लेक्स लगायतका सामाग्री टाँगेर मतदानको अनुरोध गरिएको जिंगल बजाउँदै चुनावी प्रचार गरेका छन् ।
यतिमात्रै होइन, निर्वाचन आचारसंहिताको बुंदा १२ को (थ) मा कुनै किसिमको भित्तेलेखन गर्न वा गराउन, चारपाङ्ग्रे गाडी, मोटरसाईकल, साइकल लगायत सबै प्रकारका सवारी साधन प्रयोग गरी ¥याली आयोजन ागर्न वा प्रचार प्रसार गराउन नहुने लेखिएको छ । यद्यपी उम्मेदवारहरुले यसका विपरित बस, फोर्स गाडी, अटो रिक्सा लगायतका नीजि तथा सार्वजनिक यातायातका साधनहरुमा उम्मेदवार र निर्वाचन चिन्हसहितको व्यानर टाँसेर प्रचार प्रसार गरेका छन् ।
जिल्ला तहमा निर्वाचन आचारसंहिता अनुगमनको जिम्मा पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भने उजुरीको पखाई छ । मंगलबारसम्म आचारसंहिता उलंघनको कुनैपनि लिखित उजुरी वा निवेदन नपरेको मुख्य निर्वाचन अधिकृत डा. राजेन्द्रकुमार आचार्यले जानकारी दिए ।
‘मौखिक रुपमा केही गुनासोहरु आएका छन् । तर एक्सनमै जानेगरि लिखित उजुरी भने आएका छैनन् ।’ डा. आचार्यले भने, ‘आचारसंहिता उलंघन भएको लिखित उजुरी आएको अवस्थामा तुरुन्तै आयोगलाई लेखि पठाउछौं ।’
राजनीतिक दलहरुसँग पटक–पटक छलफल गरि आचारसंहिताका विषयमा प्रतिवद्धता गर्न लगाइएको मुख्यनिर्वाचन अधिकृत डा. आचार्यले जानकारी दिए ।
जिल्लाको निर्वाचन आचारसंहिता अनुगमन टोली अनुगमनमा जाँदा त्यस्ता खालका गतिविधि नदेखिएको र अहिलेसम्म लिखित उजुरी नपरेकोले कारबाहीमा जान नसकिएको मुख्य निर्वाचन अधिकृत डा. आचार्यको भनाई छ ।
आचारसंहिता उलंघन भएको पाइएमा सम्बन्धित उम्मेदवारको उम्मेदवारी रद्द हुनेदेखि कैद सजायसम्मको जरिवाना हुने व्यवस्था रहेको आयोगले जनाएको छ ।