सुर्खेत । गण्डकी प्रदेशको पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशले २८ खेलमा भाग लिने भएको छ । आगामी जेष्ठ २२ देखि २८ गतेसम्म संचालन हुने खेलकुद प्रतियोगितामा कर्णाली प्रदेशबाट विभिन्न २८ खेलमा सहभागिता जनाउने भएकाे हाे ।
कर्णाली प्रदेशमा विभिन्न खेलका खेलाडीहरु छनोटको प्रक्रिया चलिरहेको खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र संज्यालले जानकारी दिए ।
छनोट भएका खेलाडीहरुलाई भने आगामी जेष्ठ २ गते देखि बन्द प्रशिक्षणमा राखिने छ । खेलाडीको बन्द प्रशिक्षणको लागी प्रदेश सरकारले रु १ करोड वजेट व्यवस्थापन गर्ने भएको छ ।
विहिबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाही र परिषदका सदस्य सचिव विश्वामित्र संज्यालबीच बजेट व्यवस्थापन र अावश्यक तयारीका विषयमा छलफल भएकाे छ ।
साथै, प्रदेश सरकारले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताबाट पदक बिजेतालाई खेलाडी प्राेत्साहनका लागि पुरुस्कार प्रदान गर्ने भएकाे छ ।
प्रदेश सरकारले स्वर्ण पदक बिजेतालाई रु दुई लाख, रजत पदक बिजेतालाई १ लाख ५० हजार र कास्य पदक बिजेतालाई रु एक लाख प्रदेश खेलाडी प्राेत्साहन पुरुस्कार दिने भएको हो ।
१० औं राष्ट्रिय खेलकुल प्रतियोगिता आयोजनाको लागी कर्णाली प्रदेशले गण्डकी प्रदेशबाट झण्डा लिने भएकोले कर्णाली प्रदेशबाट खेलाडी, प्रशिक्षक, व्यवस्थापक र पत्रकार गरी कर्णाली ६ सय जनाको सहभागिता रहने जनाइएकाे छ ।