कर्णाली प्रदेश । नेत्रविक्रम चन्द समूहले कालीकोटका ९ वटै स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । चुनावलाई उपयोग गर्दै राष्ट्रवादी देशभक्त शक्तिसँग सहकार्य गर्ने घोषणासहित उनिहरु चुनावमा सहभागी भएका हुन् ।
नेकपा विभाजनले कालीकोटमा कुनै असर नपरेको जिल्ला इन्चार्ज कर्णबहादुर भण्डारीले जानकारी दिए । चन्द समूहमा अर्को पक्षका कोही पनि नेता–कार्यकर्ता नरहेको उनकाे दावी छ ।
खाँडाचक्र नगरपालिकाको प्रमुखमा हस्त विश्वकर्माले उम्मेदवारी दिएका छन् ।
पार्टीले कारबाही गरेका दुई जनाले राष्ट्रिय भेलाको हल्ला चलाएर विषयान्तर गर्न खोजेको विश्वकर्माकाे भनाइ छ ।
नेकपा प्रभाव क्षेत्र मानिने कालीकोटको नरहरिनाथमा चन्द समूहका केन्द्रीय सदस्य एटम बीसीले गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा काशीपुरा शाही, रास्कोट नगर प्रमुखमा संविधानसभा २०६४ का समानुपातिक सभासद धीरेन्द्राकुमारी उपाध्याय र उपप्रमुख फूलटौरा विक, पचालझरना गाउँपालिका अध्यक्षमा जिल्ला सेक्रेटरी मनिलाल ऐडी र उपाध्यक्ष विनित तिरुवा, सान्नीत्रिवेणीमा रूपसिंह बोहरा, खाडाचक्रको प्रमुखमा हस्त विक र उपप्रमुखमा शारदा शाही, तिलागुफा नगर प्रमुखमा नरेन्द्र चदारा, उपप्रमुख धनराज शाही, महाबैको अध्यक्षमा धनबहादुर सिंह, पलाताको अध्यक्षमा पदमबहादुर विश्वकर्मा, शुभकालिकाको अध्यक्षमा मनीष विकलगायतले उम्मेदवारी दर्ता गरेका छन् । जिल्लाभरका अधिकांश वडाध्यक्ष र सदस्यमा पनि विप्लव समूहको उम्मेदवारी दर्ता भएको छ ।