सुर्खेत । आइतबार सन्ध्याकालीन समयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्र सामाजिक सञ्जालमा पोष्टियो । आयोगको सुर्खेतस्थित कार्यालयले दुल्लू नगरपालिकालाई लेखि पठाएको थियो । उक्त पत्रमा गोप्य अत्यन्त जरुरीको छाप लगाएको भएपनि पत्रले सामाजिक सञ्जालमा तरंग लियो ।
दुल्लू नगरपालिका–६ स्थित महेन्द्र जयदेवी माध्यामिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्र बहादुर शाहीलाई केन्द्रमा राखेर अख्तियारको पत्र लेखेको छ । अख्तियारले पठाएको पत्रमा ‘दैलेख जिल्ला दुल्लु नगरपालिका वडा नं ६ स्थित महेन्द्र जयदेवी माविका विव्यस अध्यक्ष रुद्रबहादुर शाहीले विभिन्न आर्थिक वर्षहरुमा विभिन्न शीर्षकको रकममा अनियमितता गरेको हुनाले’ भन्ने उल्लेख छ । अख्तियारले अनियमितता पुष्टि नहुँदै अनियमितता गरेको भन्ने पुष्टिसमेत गरेको छ । पत्रमा शाखा अधिकृत अनन्तकुमार गौतमले हस्ताक्षर गरेका छन् ।
आरोपीत शाही आसन्न स्थानीय तह निर्वाचनमा दुल्लू नगरपालिकाको नगरप्रमुख पदका उम्मेदवार हुन् । नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका शाहीमाथी लागेको आरोपलाई विपक्षी दलका कार्यकर्ताले सामाजिक सञ्जालमार्फत आलोचना गरिरहेका छन् ।
शाहीलाई आर्थिक वर्ष २०७५/०७६ मा लाइव्रेरी निर्माणको ६ लाख ५० हजार, आव २०७७/०७८ मा आइसिटि निर्माणको ६ लाख ५० हजार, मावि पूर्वाधार अन्र्तगत नौं लाख २८ हजार र पूर्वाधार विकासकै पुरानो चार कोठे भवन भत्काई सामान बेचेको २० लाख रुपैयाँ अनियमितता गरेको अख्तियारको अरोप छ ।
यस्तै, आव २०७७/०७८ मा डिपिआरको नाममा चार लाख ५० हजार, आव २०७४/०७५ मा ल्यापटप खरिदमा ५० हजार, विद्यालयको मुद्दती खाताको रकम एक लाख, अंग्रेजी माध्यामबाट पढाउने भनी प्रत्येक विद्यार्थीबाट एक हजार पाँच सय को दरले रकम लिई अंग्रेजी माध्यामबाट पढाई नै सुरु नगरेको र पाँच वर्षसम्म पनि लेखापरिक्षण नगरेको विषयमा अनियमितता गरेको भनी अख्तियारले पत्र प्राप्त भएको १५ दिनभित्र कागजात पेश गर्न पत्र लेखेको छ ।
यता उजुरी परेको पत्र सार्वजनिक भएपछि शाहीले भने आपत्ति जनाएका छन् । उनले चुनाव लक्षित गरी आफुमाथी आराेप लगाएकाे बताएका छन् ।