सुर्खेत । दैलेखको भगवतीमाई गाउँपालिका–३ चाख्लाचौरका बासिन्दालाई खानेपानी र सडकको समस्यासँग जुधिरहेका छन् । करिब १० घरधुरी भएको यो बस्तीमा खानेपानीको विकराल समस्या छ । यसको समस्याका लािग जनप्रतिनिधीले आश्वासन मात्रै दिएर कार्यान्वयन नगरेपछि यसपटक यहाँका बासिन्दा एकजुट भएका छन् ।
गाउँवस्तीबाट करिव आधा घण्टा टाढाबाट पानी बोक्नुपर्ने बाध्यता रहेको स्थानीय निर्मल के.सी.ले जानकारी दिए । ‘पिउने पानीका लागि वस्तीबाट करिब आधा घण्टा टाढाको बाटो जानुपर्छ । त्यहीपनि आलोपालो गरि पानी भरिन्छ ।’ केसीले भने, ‘घरमै खानेपानीको धारा बनादिन हामीले उहिलेदेखि नै माग राख्दै आएका छौं ।’
यसअघि निर्वाचित जनप्रतिनिधीसँग खानेपानीको समस्या समाधानका लागि उनिहरुले पटक–पटक आग्रह गर्दापनि सुनुवाई नभएको केसीले गुनासो गरे ।
चाख्लाचौर बासिन्दालाई खानेपानीसँगै सडकको पनि उतिकै समस्या छ । गाउँपालिकाको केन्द्र बेस्तडा बजारदेखि करिव दुई घण्टाको पैदल यात्रा पछि यो बस्तीमा पुग्न सकिन्छ । वस्तीमा सडकको सरल पँहुच नहुँदा समस्या भोग्नुपरेको केसीले बताए ।
चुनावी समयमा भोट माग्न पुगेका नेताहरु जितेपछि समस्याको सुनुवाई नगरेपछि यसपटक चाख्लाचौरका स्थानीयले चुनाव अघि नै आफ्ना मागहरु सार्वजनिक गरिसकेका छन् । उनिहरुले सामुहित ऐक्यवद्धता जनाउँदै खानेपानी र सडक निर्माण गर्न लिखित प्रतिवद्धता जनाउने उम्मेदवारलाई मात्रै मतदान गर्ने ऐक्यद्धता जनाएको हुन् ।
करिव २५ जना स्थानीय बासिन्दाको आइतबार बसेको भेलाले यस्तो निर्णय गरेको हो ।
‘आसन्न स्थानिय तह निर्वाच्नमा मतदातासँग भोट माग्न आउने जुनसुकै दलले यस (चाख्लाचौर) समुदायमा लामो समयसम्म पहल गर्दापनि माग पूरा नभएको कृषि सडक र खानेपानी समस्या हल गर्न लिखित प्रतिवद्धता गर्ने दललाई स्वीकार (मतदान) गर्ने निर्णय गरि हस्ताक्षर संकलन गरिदिएका छौं ।’ भेलाको निर्णयमा लेखिएको छ ।