काठमाडौं । मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धिरजप्रताप सिंहलाई बढुवा गरेको छ ।
मन्त्रिपरिषद्को आइतबार बालुवाटारमा बसेको बैठकले गृह मन्त्रालयको प्रस्तावमा एआईजी सिंहलाई महानिरीक्षकमा बढुवा गरेको एक मन्त्रीले जानकारी दिए ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षत्री अवकाशमा गएपछि बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरी महानिरीक्षकमा सिंहलाई नियुक्त गरेको हो ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा कार्यरत सिंह गत चैत ७ मा एआईजीमा बढुवा भएका थिए ।
दैलेख जिल्ला नारायण नगरपालिका-७ विजौरामा २०२४ सालमा जन्मिएका सिंहले कानूनमा स्नातक र मानविकीमा स्नातकोत्तर तहको अध्ययन गरेका छन् ।