सुर्खेत । महिला नेतृत्वको अर्थपुर्ण सहभागिताका विषयमा वहस सुरु भएसँगै कर्णालीमा पनि पालिकाहरुमा स्थानीय निर्वाचनका लागि महिला नेतृत्व संख्या बढ्न थालेको छ । संविधानमा व्यवस्था भए बमोजिम सबै नेतृत्वदायी पदमा महिलाको अर्थपूर्ण उपस्थितिका लागि यहाँका राजनैतिक दल, महिला अधिकारकर्मीलगायतको सक्रियताले पालिकामा महिला नेतृत्व बढ्न थालेको हो ।
नेपालको संविधानको धारा ३८(४) ले ‘राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक हुने’ व्यवस्था गरेको छ । राज्यका सबै संरचनामा एकतिहाइ महिलाको अनिवार्य उपस्थिति हुनुपर्ने संविधानमा व्यवस्था गरिएको छ ।
स्थानीय तह निर्वाचनका लागि कर्णालीमा मुख्यगरी नेकपा एमाले, सत्ता गठबन्धनमा रहेका दलहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) तथा नेपाल मजदुर किसान पार्टी र राप्रपाले स्थानीय तहको प्रमुख तथा उपप्रमुखमा महिला नेतृत्वको उम्मेद्वारीहरु दर्ता गराएका छन् ।
प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगर नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी एमालेले महिला नेतृत्वका साथ स्थानीय चुनावमा पदाधिकारी मनोनयन गराएको छ । नेकपा एमालेको तर्फबाट नगरको प्रमुख पदमा मोहनमाया भण्डारी (ढकाल)को उम्मेद्वारी छ । ढकाल यसअघि वीरेन्द्रनगर नगरपालिकाको उपमेयर थिइन् ।
यसैगरी दैलेखको ठाटीकाँध गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेबाट लक्ष्मीदेवी शाहको उम्मेद्वारी परेको छ । एमालेबाट ठाटीकाँधको अध्यक्षको उम्मेद्वार बनेकी शाह जिल्ला समन्वय समितिको उपपप्रमुख समेत थिइन् ।
दैलेखकै नारायण नगरपालिकाको प्रमुखका लागि निर्मला खड्का (थापा)को उम्मेद्वारी परेको छ । नेपाली कांग्रेसको तर्फबाट उनको उम्मेद्वारी परेको हो । यसैगरी नारायण नगरपालिकाको उपप्रमुख पदका लागि नेकपा (एकीकृत समाजवादी) बाट सावित्री मल्लको उम्मेद्वारी दर्ता भएको छ । यसअघि खड्का नगरकार्यपालिकाको सदस्य र मल्ल नगरको उपमेयर थिइन् । जिल्लाको चामुण्डाविन्द्रासैनी नगरपालिकाको प्रमुखमा नेकपा (एकीकृत समाजवादी) पार्टीबाट मनिषा कार्कीको उम्मेद्वारी दर्ता भएको छ ।
दैलेखकै भैरवी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसबाट रिता शाहीको उम्मेद्वारी छ । शाही नेपाली कांग्रेस दैलेखको उपसभापति हुन् । कांग्रेसबाट गाउँपालिका उपाध्यक्ष पदका लागि देवी भण्डारीको उम्मेद्वारी समेत परेको छ । भण्डारी भैरबी गाउँपालिका–३ को वडाध्यक्ष हुन् । उनी २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित हुने एकमात्र महिला वडाध्यक्ष हुन् । यहाँ नेकपा (माओवादी) केन्द्रबाट गाउँपालिका अध्यक्षमा सरिता बिसी रिजालको समेत उम्मेद्वारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।
कालिकोटको खाँडाचक्र नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट तारा शाहको उम्मेद्वारी परेको छ । जिल्लाको रास्कोट नगरपालिकाको प्रमुखमा नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट धिरिन्द्रा उपाध्याय (भृकुटी)को उम्मेद्वारी परेको छ ।
रुकुम (पश्चिम)को मुसिकोट नगरपालिकामा नेकपा एमालेका तर्फबाट प्रमुख पदमा अनिता चन्द गौतमले मनोनयन दर्ता गराएकी छिन् ।
यसका साथै, कर्णालीका पालिकाहरुमा महिला सहभागीका सवन्धमा थप विवरण आउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा भन्दा यसपालीको निर्वाचनमा कर्णालीमा पालिकाहरुको नेतृत्वमा महिला सहभागीताको संख्या भने बढेको निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रपति र उपराष्ट्रपति, प्रतिनिधिसभाको सभामुख र उपसभामुख, राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष, प्रदेशको सभामुख र उपसभामुख, जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख, स्थानीय पालिकाको प्रमुख एवं अध्यक्ष र उपप्रमुख तथा उपाध्यक्षमध्ये एक फरक–फरक लिंगको हुनुपर्ने संविधानमा स्पष्ट प्रावधान छ ।
प्रमुख या निर्णायक ठाउँमा महिलाको उपस्थिति न्युन रहेको यथार्थलाई सबै राजनीतिक दलले स्विकार्नुपर्ने महिला अधिकारकर्मीहरुको भनाई छ । (काँक्रेविहार दैनिक)