सुर्खेत । कर्णाली प्रदेशमा सत्ता गठबन्धनबीचकाे सहमति जुट्न सकेकाे छैन । अन्य जिल्लामा पालिका भागबण्डा गर्ने सहमति जुटेपनि दुइ जिल्लामा सहमति हुन नसकेकाे हाे ।
पालिका भागबण्डाका विषयमा पाँच दिनदेखि जारी गठबन्धन दलहरूबीचको छलफल सकिएको छ। बिहीबारबाट जारी छलफल सोमबार बिहान टुंगिएको हाे ।
दलहरूबीचको बैठकबाट आठ जिल्लामा पालिका भागबण्डाको टुंगो लागेको छ भने रूकुम पश्चिम र सुर्खेतमा कुनै सहमति जुट्न सकेको छैन। बाँकी रहेका यी दुई जिल्लामा १६ गतेसम्म सहमतिको प्रयास जारी राख्ने गरी छलफल टुंगिएको हो।
आज उम्मेदवारी दिने अन्तिम दिन भए पनि फिर्ता लिन मिल्ने समय भने वैशाख १६ गतेसम्म तोकिएको छ।
अहिले सहमति हुन नसकेको सुर्खेत र रूकुम पश्चिममा गठबन्धनमा रहेका दलहरूबाट छुट्टाछुट्टै उम्मेदवार पर्छ/पर्दैन भन्ने खुलाइएको छैन।
नेकपा माओवादी केन्द्र सुर्खेतका संयोजक जीतबहादुर रानाले अहिले यो बारेमा छलफल नभएको बताए।
माओवादीकै एक नेताका अनुसार सुर्खेतमा कांग्रेसको र रूकुम पश्चिममा माओवादीको बलियो पकड भएकै कारण यी दुई जिल्लामा कुरा मिल्न नसकेको हो।
माओवादीले सुर्खेतमा चिङ्गाड र चौकुने गाउँपालिका तथा रूकुम पश्चिमका सबै पालिकामा आफूले नेतृत्व लिनेगरी बार्गेनिङ गरेको थियो। कांग्रेसले यसमा सहमति जनाउन नसकेको हाे ।