सुर्खेत । कर्णालीमा सत्तारुढ गठबन्धन दलहरुबीच भागबण्डामा सहमति जुट्न सकेको छैन । लामो समयदेखि बसेको पटक–पटकको बैठकमा पनि दलहरुले अडान नछाेडेपछि सहमति जुट्न नसकेको हो ।
आज शनिबार पनि विहान आठ बजेदेखि बसेको बैठकमा सहमति जुट्न नसकेको कांग्रेस प्रवक्ता दमन शाहीले जानकारी दिए । सत्तारुठ गठबन्धन दलहरुले अडान कायम राख्दा भागबण्डामा सकस भैरहेको प्रवक्ता शाहीले बताए ।
मुख्यमन्त्री निवासमा बसेको बैठकले खाना खाने समयका लागि स्थगित भएको छ ।
गठबन्धन दलको नेतृत्व कांग्रेसले गरेको हुँदा यसको मर्म अनुरुप सम्मानजनक भाग पाउनुपर्ने कांग्रेसको अडान रहेको प्रवक्ता शाहीले बताए । ‘कांग्रेसले गठबन्धनको नेतृत्व लिएको छ । यसका भावनाअनुसार पहिलो पार्टी हैसियतमा भाग पाउनुपर्ने अडान हो’ प्रवक्ता शाहीले भने, ‘आफ्नो पार्टीको सहभागिता र अरु दललाई पनि सँगै प्रतिनिधीत्व गराउने कसरतमा नेतृत्व लागिरहेको छ ।’
आइतबारदेखि उम्मेद्वारी दर्ता गर्ने समय भएकोले पनि आजै भागबण्डाको अन्तिम टुंगो लगाउन दलहरु लागिरहेको प्रवक्ता शाहीले बताए ।
भागबण्डामा कांग्रेस र माओवादी केन्द्रले कम्तीमा ४०/४० प्रमुख मागेका छन् । एकीकृत समाजवादीले २० स्थानीय तहमा प्रमुख दाबी गरेको छ ।
गत निर्वाचनमा माओवादी केन्द्रले रुकुम पश्चिममा ‘क्लिन स्वीप’ गरेको थियो भने सुर्खेत, दैलेख र मुगुमा एउटा पनि पालिका जितेको थिएन । अहिले माओवादीले दैलेखमा ४, सुर्खेतमा २ र मुगुमा १ स्थानीय तह मागेको छ । कांग्रेसले गत निर्वाचनमा शून्य नतिजा बेहोरेको रुकुम पश्चिममा २ र एक मात्र पालिका जितेको कालीकोटमा ४ पालिका प्रमुख मागेको छ भने एकिकृत समाजवादीले सम्मानजनक भाग पाउनुपर्ने अडानमा छ ।
कांग्रेस संसदीय समितिको बैठक प्रभावित
गठबन्धन दलहरुको भागबण्डा टुंगो नलाग्दा कांग्रेस प्रदेश संसदीय दलको बैठक प्रभावित बनेको छ । दलको शुक्रबार आह्वान गरिएको बैठक पनि बसको छैन ।
गठबन्धन दलहरुबीच भागबण्डाका विषयमा सहमति नभएकोले संसदीय दलको बैठक सञ्चालन नभएको प्रवक्ता दमन शाहीले जानकारी दिए ।
गठबन्धनबीचको बैठक सकिएलगत्तै संसदीय दलको बैठक सञ्चालन हुने प्रवक्ता शाहीको भनाई छ ।