सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी एमालेको सुर्खेतका पालिका कमिटीले जिल्लालाई उम्मेद्वार सिफारिस गरेका छन् । आसन्न स्थानीय निर्वाचनका लागि जिल्लाका ९ वटै पालिकाका कमिटीले एमालेको जिल्ला कमिटी समक्ष उम्मेद्वार सिफारिस गरेका हुन् ।
वीरेन्द्रनगर नगरपालिकामा मोहनमाया ढकाल, अमृत विसी र कुलमणी देवकोटाको नाम सिफारिस भएको छ । मोहनमाया ढकाल एमालेबाट स्थानीय निर्वाचन २०७४ मा वीरेन्द्रनगर नगरपालिकाको उपप्रमुख पदमा निर्वाचित थिईन् ।
भेरीगंगा नगरपालिकाका लागि एमालेको पालिका कमिटिले १३ जनाको नाम सिफारिस गरेको छ । पालिकामा आकांक्षी धेरै हुँदा स्थानीय तहमै विवाद मिलाउन नसकेपछि भेरीगंगामा एमालेको पालिका कमिटिले जिल्लालाई १३ जनाको नाम सिफारिस गरी पठाएको हो ।
गुर्भाकोट नगरपालिकामा एमालेबाट सर्वसम्मत रुपमा तिलक खत्री सिफारिस छन् ।
पञ्चपुरी नगरपालिकाबाट रेशम राना र धनबहादुर थापा सिफारिस भएका छन् ।
यसैगरी लेकवेशी नगरपालिकाबाट देव राना र विमला खल्लुख सिफारिस भएका छन् । चौकुने गाउँपालिकाबाट हरी अधिकारी र निर्मला राना सिफारिस भएको सुर्खेत एमालेका प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाले जानकारी दिए ।
बराहताल गाउँपालिकाबाट इन्द्र केसी र घनश्याम पाण्डे सिफारिस भएका छन् । चिंङ्गाड गाउँपालिकामा वोधविक्रम जिसी, खबत खत्री र टोपबहादुर अधिकारी सिफारिस छन् ।
सिम्ता गाउँपालिकाबाट भने ऐनबहादुर चन्द, कविन्द्र केसी र टेकेन्द्रकुमार वस्नेत सिफारिस भई आएको तिमिल्सेनाले जानकारी दिए । सिम्ताबाट सिफारिस भई आएका कविन्द्र केसी स्थानीय निर्वाचन २०७४ मा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित समेत भएका थिए ।
सिफारिसको आधारमा जिल्ला कमिटि वैठकले शनिबार मात्र पालिकाको प्रमुख पदका लागि उम्मेद्वारको अन्तिम नामावली टुंगाउने तयारी गरेको छ ।