सुदुरपश्चिम । जेल जीवन बिताइरहेका प्रतिनिधिसभाका सांसद रेशम चौधरीको पार्टीले पनि स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिने भएको छ ।
चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा दर्ता भएको नागरिक उन्मुक्ति पार्टीले कैलालीका १३ वटै स्थानीय तहमा उम्मेदवारी दिएर चुनामा सहभागी हुने बताएको छ ।
स्थानीय तहको चुनावका लागि पार्टीका तल्लो तहका समितिलाई वैशाख ५ गतेभित्र उम्मेदवारहरुको नाम सिफारिस गर्न निर्देशन दिएको छ । नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य गंगा चौधरीले जिल्लाका सबै स्थानीय तहमा पार्टी समिति विस्तार भइसकेकाले ३० वैशाखमा हुने चुनावमा उम्मेदवारी दिने तयारी गरेको जानकारी दिए ।
टीकापुर नगरपालिकासहित पूर्वी कैलालीका भजनी नगरपालिका, जोशीपुर र जानकी गाउँपालिकालाई आफ्नो प्रभाव क्षेत्र मानेको नागरिक उन्मुक्ति पार्टीले यी ठाउँमा आफ्ना उम्मेदवारको जित सुनिश्चित भएको दाबी गरेको छ भने ढिलो गरेर संगठन विस्तार भएका स्थानीय तहमा समेत धेरै वडाहरुमा आफ्नो उम्मेदवार जित्ने विश्वास लिएको छ । तर उक्त पार्टीले चुनावमा कुनै पनि दलसँग गठबन्धन नगर्ने जनाएको छ ।