काठमाडौँ । निर्वाचन आयोगले आसन्न स्थानीय निर्वाचनका लागि शुक्रबार मध्यरातदेखि आचारसंहिता लागू गर्ने तयारी गरेको छ । राजनीतिक दल र अन्य सरोकारवालालाई पालना गर्ने लिखित प्रतिबद्धता गराएपछि आयोगले आचारसंहिता कार्यान्वयनमा ल्याउन लागेको हो ।
आयोगले शुक्रबार निजी क्षेत्रलाई प्रतिबद्धता गराएपछि पत्रकार सम्मेलन गरेर आचारसंहिता लागू गर्ने तयारी गरेको छ ।
स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी बनाउन आयोगले सरकार, संवैधानिक निकाय, अर्धसरकारी संस्था, राजनीतिक दल, उम्मेदवार, सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चारमाध्यम, पर्यवेक्षक, गैरसरकारी संस्था, विद्यालय र विश्वविद्यालयका शिक्षक तथा कर्मचारी, मतदातालगायतले पालना गर्नुपर्ने आचारसंहिता जारी गर्न लागेको हो ।
आचारसंहिता लागू भएपछि वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएकाबाहेकका कार्यक्रम गर्न, नयाँ नीति, योजना र कार्यक्रम घोषणा गरी स्वीकृत गर्नसमेत रोक लगाउँछ ।
आचारसंहिता लागू भएपछि कुनै योजनाको शिलान्यास, उद्घाटन, सर्वेक्षण गर्न तथा अध्ययनका लागि अनुदान दिनसमेत पाइँदैन । त्यस्तै निर्वाचनको कामबाहेक कर्मचारीको सरुवा र पदस्थापनासमेत गर्न पाइँदैन । आयोगको अनुमतिबेगर सरकारी कर्मचारी र पदाधिकारी विदेश भ्रमणमा जानसमेत मिल्दैन । उम्मेदवारको कार्यालयमा कपडामा बनाइएको ३/३ फिटको दलको झन्डा र सोही नापको चुनाव चिह्न मात्रै राख्न पाउने प्रावधान आचारसंहितामा छ ।