सुर्खेत । आजदेखि टाइफाइड विरुद्धको खोप अभियान सुरु भएको छ । राष्ट्रिय खोप अभियान अर्न्तगत सुर्खेतमा पनि सुरु गरिएको हो ।
कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री हिमबहादुर शाहीले स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गर्दै अभियानको उद्घाटन गरेका हुन् ।
१५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई टाइफाइड विरुद्धको ‘टिसिभि’ खोप लगाइने जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमले जानकारी दिए ।
उनका अनुसार सुर्खेतका १ लाख ३७ हजार २९ लक्षित बालबालिकाले खोप लगाउने छन् । आज पहिलो दिन गते वीरेन्द्रनगर नगरपालिकाका सबै वडा, चैत्र २६ गते भेरीगंगा नगरपालिका, २८ गते गुर्भाकोट नगरपालिका र २९ गते वराहताल गाउँपालिका, चिङ्गाड गाउँपालिका र लेकवेशी नगरपालिकाका सबै स्थानमा खोप कार्यक्रम सञ्चालन हुनेछन् ।
चाैकुने गाउँपालिका र सिम्ता गाउँपालिकामा भने आगामी वैशाख ३ गतेका लागि खोप कार्यक्रम तय गरिएको छ ।
सिम्तामा सात हजार ८४१, चिङ्गाडमा पाँच हजार ९१५, लेकवेशीमा आठ हजार ३९७, गुर्भाकोटमा १२ हजार ९९७, भेरीगंगाका ११ हजार ८१९, वीरेन्द्रनगरका २२ हजार २३९, बराहतालका सात हजार ८३५, पञ्चपुरीका १० हजार ६२६ र चौकुनेका आठ हजार ७९८ जना बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप लगाउने लक्ष्य रहेको गौतमले जनाए ।
सुर्खेतमा आर्थिक वर्ष २०७६/७७ मा तीन हजार ४२६, २०७७/७८ मा चार हजार ५२८ र चालु आर्थिक वर्षको हालसम्म दुई हजार ८३६ जनामा टाइफाइड रोगको संक्रमण देखिएको तथ्यांक छ ।
खोप अभियानका उद्घाटन गर्दै मन्त्री शाहीले बालबालिकाको जिउँ, ज्यानको रक्षा गर्न सरकार प्रतिवद्ध रहेको भन्दै कर्णालीका सबै बालबालिकालाई खोप अभियानमा समेटिने मन्त्री शाहीले विश्वास व्यक्त गरे ।
कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले सबै बालबालिका खोप अभियानबाट छुट्न नहुने बताए । उनले यो अभियान पछि सबै उमेर समूहका व्यक्तिलाई पनि खोप दिइने अपेक्षा राखे ।
कार्यक्रममा अध्यक्षता ग्रहण गरेका वीरेन्द्रनगर नगरपालिका ७ का वडाअध्यक्ष धु्रवकुमार चपाईले खोप अभियानमा सबैको सहयोग आवश्यक रहेको बताए । उनले यो अभियान सफल पार्न सरकारी निकाय, गैरसरकारी संस्था, नागरिक समाज, नीजि क्षेत्र लगायत सबैको एकता आवश्यक रहेको बताए ।
वीरेन्द्रनगरस्थित श्रीकृष्ण संस्कृत तथा साधारण माध्यामिक विद्यालयबाट खोप अभियानको सुरुवात गरिएको हो ।