पोखरा । गण्डकी प्रदेश सरकारमा सहभागी विभिन्न दलले नै सरकारका कामकारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् । प्रदेशसभाको नवौ अधिवेशनको बिहीबार सुरु पहिलो बैठकमा बोल्दै माओवादी केन्द्र, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले सरकार अपेक्षाकृत अघि नबढेको भन्दै आलोचना गरेका हुन् ।
माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले सरकार हस्तक्षेपकारी हिसाबले अघि बढ्नुपर्नेमा मन्द गतिमा हिँडेको बताए । ‘सरकार कहाँ अल्मलियो ? बजेट र योजना कार्यान्वयन हुन सकेको छैन,’ उनले भने, ‘यसमा चिन्ता लागेको छ । कर्मचारीतन्त्रसँग पनि समन्वय र पहलकदमी खासै पुगेको छैन ।’ उनले बनेका कानुन पनि कार्यान्वयन नभएको भन्दै असन्तुष्टि व्यक्त गरे । चुमानले नयाँ कानुन ल्याउन र संघीय सरकारसँगको साझा अधिकारका सूचीमा हस्तक्षेप गर्न पनि माग गरे ।
जनता समाजवादी पार्टी संसदीय दलका नेता एवं उर्जा, जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्यले हिजो के थियो र अहिलेको सरकार बनेपछि के भइरहेको छ भनेर नियाल्न जरुरी रहेको बताए । गण्डकी प्रदेशसभालाई अँध्यारो कोठाबाट एउटा अमुक स्थितिमा राखेर घाँटी रेटिने परिस्थितिबाट बचाएर आज यो ठाउँमा ल्याइपुर्याए पनि त्यसअनुरुप सरकार अघि नबढेकोमा उनले गुनासो गरे । ‘एक घन्टाअघि नाराबाजी र एक घन्टापछि शपथ खाएर फिल्मी शैलीबाट सरकार गठन भएको हो,’ उनले भने ।
सरकारमा सहभागी नभए पनि समर्थन गरेको राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता पियारी थापाले सरकारको नेतृत्व सक्षम नभएको भन्दै आलोचना गरिन् । ‘सरकारलाई आलोचनात्मक समर्थन रहेकाले आलोचना गर्ने हाम्रो दायित्व हो,’ उनले भनिन्, ‘तर अहिलेको सरकारको परिस्थिति हेर्दा गठबन्धनमा विकृति रहेको छ । जनताले प्रदेश सरकारबाट केही नपाउने अवस्था छ ।’ कसैलाई सफल वा असफल बनाउनेभन्दा पनि गाडीको एउटा पांग्रा एकातिर र अर्को अर्कातिर लरखरिँदा दुर्घटना निम्तिने भएकाले त्यस्तो अवस्था नआओस् भनेर सरकारले विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो । वार्षिक बजेट, कार्यक्रम कार्यान्वयन नभएको र कतिपय नीतिगत ढिलाइले जनताको काम हुन नसकेको भन्दै उनले असन्तुष्टि जनाइन् । यो विधेयक अधिवेशनसमेत भएकाले के कस्ता कानुन आउँदैछन् र अहिलेसम्म बनेका कानुनको के कति कार्यान्वयन भयो भन्ने प्रश्न गर्दै उनले मौलिक अधिकारसम्बन्धी कानुन बनाउन ध्यानाकर्षण गराइन् । संविधान, गणतन्त्र, धर्मनिरपेक्षता र राष्ट्रिय स्वाधिनताको रक्षाका लागि प्रदेश सरकार लाग्नुपर्ने उनको अनुरोध थियो ।