सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले संसद्को माग पूरा भएपछि मात्रै एमसीसीबारे धारणा सार्वजनिक गर्ने बताएका छन् ।
नेकपा एमाले कर्णाली प्रदेशमा निर्वाचन सम्वन्धी अभिमुखिकरण कार्यक्रममा सहभागी हुन वीरेन्द्रनगर विमानस्थलमा आइपुगेका बादलले सञ्चारकर्मी सँग कुरा गर्दै यस्तो बताएका हुन् ।
‘सरकारले पहिला संसदमा हामीले १४ जना सांसदहरुको विषयमा सूचना टाँस गर्ने हाम्रो माग थियो ।अब त्यो पुरा नहुँदा सम्म हाम्रो पार्टी यो प्रक्रियामा सहभागी नहुने भएको हो । यो माग पुरा भयो भने त्यसपछि पार्टीले एमसीसीबारेमा ठोस र आधिकारिक धारणा बनाउँछ ।’ उनले भने, ‘काँग्रेससँग सहकार्य गर्ने सहमति भएको छैन । सभामुखले सूचना टाँस गर्नु भएको छैन । अब सूचना नटासेपछि निश्चित रुपमा सभामुखले राजीनामा दिनुपर्छ र मार्ग प्रशस्त गरिदिनुपर्छ । अरु विषयमा हाम्रो कुनै निर्णय भएको छैन ।’
उनले नेकपा एमालेलाई नेकपाकै रुपमा बुझ्नुपर्ने बताए ।