काठमाडाैं । माेरङकाे लेटाङ नगरपालिका ८ ज्यामेरकी एक बालिकाको शव भेटिएकाे छ । विद्यालयमा पढ्न गएकाे तीन दिनपछि प्रहरीले सामुदायिक वनमा गाडेको अवस्थामा शुक्रबार बरामद गरेको छ ।
स्थानीय जाँते माध्यमिक विद्यालयमा पढन गएकी अजय राईकी १२ वर्षीया छोरी करुणा राईको शव वनमा गाडेको अवस्थामा प्रहरीले बरामद गरेको हो । उनको हत्या गरेको आशंकामा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको छ ।
जाँते माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत बालिका करुणा बुधबार विद्यालयबाट फर्केर घर नआएपछि परिवारजनले इलाका प्रहरी लेटाङमा खोजी गरिदिन उजुरी दिएका थिए ।
प्रहरीले खोजी गर्ने क्रममा लेटाङ नगरपालिका ८ स्थित शिवशक्ति सामुदायिक वनभित्र खोल्सीमा ढंगाले पुरिएको अवस्थामा बालिकाको शव बरामद गरेको जिल्ला प्रहरी मोरङका सूचना अधिकारी डिएसपी मञ्जिल मुकारुङले बताए ।