सुर्खेत । प्रदेश अस्पताल सुर्खेतमा क्यान्सर उपचार हुने भएको छ । वीपी कोइराला मेमोरियल क्यानसर अस्पताल भरतपुर चितवन र प्रदेश अस्पताल सुर्खेतबीच क्यान्सर उपचारका लागि समझदारी भएको छ । मङ्गलबार दुई अस्पतालका आधिकारिक प्रतिनिधीहरुबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
प्रदेश अस्पताल सुर्खेतमा क्यान्सर रोगको विस्तारित सेवा सेवा सञ्चालन हुने अस्पताल निर्देशक डा. डम्बर खड्काले जानकारी दिए । विस्तारित सेवामा बहिरङ्ग, अन्तरङ्ग एवं उपचार समेत समेटी महिनाको कम्तीमा एकपटक सेवा सञ्चालन गर्ने समझदारी भएको छ ।
वीपी मेमोरियल अस्पतालले सुर्खेतका लागि जनशक्ति व्यवस्थापन र उनिहरुका लागि नियमानुसार यातायात, खाजा लगायत खर्चको लागि आवश्यक बजेटको व्यवस्था मिलाउने छ भने प्रदेश अस्पतालका तर्फबाट क्यान्सर रोगको विस्तारित सेवा सञ्चालन गर्न आवश्यक वातावरण निर्माण गने सेवाग्राहीलाई सूचना, कार्यतालिका र सेवा विवरण बारे जानकारी गराउने उपलब्ध पूर्वाधार औजार उपकरण र जनशक्ति परिचालन गर्ने समझदारी पत्रमा उल्लेख छ । प्रथम चरणमा गरिएको यो समझदारी आगामी २०८२ को भदौ १८ गतेसम्म लागू हुने जनाइएको छ ।
वीपी मेमोरियल अस्पतालका तर्फबाट कार्यकारी निर्देशक डा. शिवजी पौडेल र प्रदेश अस्पतालका तर्फबाट निर्देशक डा. डम्बर खड्काले दुईपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
उक्त समझदारी पत्रमा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले विस्तारित सेवालाई दिर्घकालीन बनाउनेतर्फ ध्यान दिन दुवै पक्षलाई आग्रह गरे । त्यसका लागि प्रदेश सरकारका तर्फबाट गर्नुपर्ने व्यवस्थापनका कमजोरी हुन नदिने प्रतिवद्धता जनाए । प्रदेश अस्पतालमा क्यान्सर रोगको विस्तारित सेवाले कर्णालीका नागरिकको उपचारमा सहयोग पुग्ने अपेक्षा गरे ।