चिकित्सकहरूका अनुसार सिकलसेल एनिमिया रक्तकोषमा आउने समस्या हो । सिकलसेल एनिमिया भएपछि गोलो आकारमा हुने रक्तकोष हँसिया (सिकल) आकारको बन्छ । ‘सिकल’ भनेको हसियाको आकार र ‘सेल’ भनेको रक्त कोषिका हो । त्यसैले यसको आकार परिवर्तन भइ हसियाको आकारमा बदलिन्छ ।
यो खानपानको कारणले हुँदैन । यो पूर्णतया वंशाणुगत हो । यो रोगमा यदि बुवा–आमालाई सिकलसेल छैन भने तिनका छोराछोरीमा सिकलसेल कुनै हालतमा पनि हुँदैन । तर, यदि दुबैमा छ भने उनीहरुबाट जन्मने बालबालिकामा पनि देखा पर्ने गर्छ । बाबुआमा दुवैलाई त्यो रोग छ भने छोराछोरीलाई पनि त्यही रोगले च्याप्ने सम्भावना २५ प्रतिशत रहने चिकित्सकहरू बताउँछन् ।
यसका रोगी उपचारका लागि आएमात्र रोगको पहिचान गरी उपचार गर्ने गरिन्छ । जो रोगवहाक हो, जसको जीन खराब छ तर ऊ स्वस्थ्य छ, त्यस्ता जनसंख्या नेपालमा धेरै छन् । तिनीहरुमै रोग बढी देखिएको छ ।
रगतमा सिकलसेलको मात्रा ४० प्रतिशत भन्दा कम भएको अवस्थालाई ‘ट्रेट’ भनिन्छ । त्यो अवस्थाका मानिसले अरूले भन्दा लामखुट्टेको टोकाइबाट हुने मलेरियाको बढी प्रतिरोध गर्न सक्ने देखिएको छ । सिकलसेलको मात्रा ६० प्रतिशत भन्दा बढी पुगेपछि रोगले समातेको मानिन्छ । र, सिकलसेल एनिमिया भनिने अवस्थामा मानिस दसिराम जस्तै रोगी बन्छ ।
लक्षण
सिकलसेल भएकाहरुमा सबैभन्दा पहिले रगत अल्पता हुन्छ । उनीहरुको शरीरबाट रगत कम हुँदै जान्छ । खुट्टाको हड्डी, मेरुदण्ड तथा करङ्ग धेरै दुख्ने गर्छ । धेरै पीडा हुन्छ । साथै जण्डिस पनि देखा पर्छ । पेट दुख्छ । त्यस्तै पित्त थैलीको पत्थरी, कलेजो सुन्निने, फियो सुन्निने जटिलता उत्पन्न हुन्छ । यसले आँखामा समेत असर पार्छ ।
जाडोयाममा प्रायः बालबालिकालाई निमोनिया हुने गर्छ । कतिपय बालबालिकामा सिकलसेल रोग पहिचान हुनु पूर्व नै निमोनियाबाट मर्ने गर्छन् । ५० प्रतिशत बालबालिका सिकलसेल पहिचान नहुँदै निमोनियाबाट मर्ने गर्छन् ।
संसारमै अवस्था कस्तो छ ?
सिकलसेल एनिमियाका बिरामी संसारमा लाखौं छन् । अफ्रिका, दक्षिण अमेरिका, यूरोपका पनि ग्रीस जस्ता दक्षिणी मुलुक, अरब, क्यारेबियन देशहरू र भारत जस्ता गर्मी बढी हुने मुलुकमा यसका बिरामी छन् ।
पुस्तौंअघि अफ्रिकाबाट अमेरिका पुगेकाहरूमा पनि यो रोग देखिनुले यसका कीटाणुले मानिसलाई पुस्तौंसम्म नछाड्ने देखाउँछ । इन्टरनेटमा उपलब्ध सूचनाहरूले अमेरिकामा अफ्रिकी मूलका हरेक ५०० मा एक जना र दक्षिणी अमेरिकी मूलका १००० मा एक जना यो रोगबाट पीडित रहेको बताउँछन् ।
अमेरिका लगायत विकसित मुलुकहरूमा यो रोग वंशानुगत सर्ने प्रमाणित भइसके पनि सदियौंदेखि तराईको गर्मीमा बसोबास गर्ने थारू समुदायलाई यो रोगले कुन मात्रामा सताएको छ भन्ने अध्ययन भएको पाइँदैन ।
बाँके, बर्दियाका थारूहरूबीच अध्ययन गरेर सन् १९९१ मा ‘अमेरिकन जर्नल अफ ह्युमन जेनेटिक्स’ ले प्रकाशित गरेको रिपोर्टमा भने सिकलसेल ट्रेट भएकालाई मलेरिया लाग्ने सम्भावना सामान्य मानिसलाई भन्दा सात गुणा कम हुने उल्लेख छ ।