काठमाडौं । नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनामा नहरको बाटो चल्ने अमेरिकी पानीजहाजलाई चर्को शुल्क लगाइएको बताउँदै शुल्क घटाउन वा नहरको नियन्त्रण पुनस् अमेरिकालाई दिन चेतावनी दिएका छन् ।
‘पनामाले लिएको शुल्क हास्यास्पद र अत्यधिक अनुचित छ,’ आइतबार एरिजोनामा समर्थकलाई सम्बोधन गर्दै ट्रम्पले भने, ‘हाम्रो देशमाथिको चर्को दोहन तुरुन्तै रोकिनेछ ।’ ट्रम्पले आगामी जनवरी २० मा राष्ट्रपतिको पदभार सम्हाल्दैछन् ।
ट्रम्पको टिप्पणीपछि रूष्ट पनामाका राष्ट्रपति जोसे राउल मुलिनोले ‘नहर र वरपरको क्षेत्रको हरेक वर्ग मिटर आफ्नो देशको भएकोु प्रतिक्रया दिएका छन् । पनामाको सार्वभौमसत्ता र स्वतन्त्रताका विषयमा कुनै पनि सम्झौता नहुने मुलिनोको भनाइ छ ।
ट्रम्पले एरिजोनामा रूढिवादी कार्यकर्ताको समूह ‘टर्निङ पोइन्ट यूएसएु का समर्थकलाई सम्बोधन गरेका हुन् । उक्त समूहले गत नोभेम्बरमा भएको चुनावमा ट्रम्पलाई समर्थन गरेको थियो ।
अमेरिकी नेताले कुनै पनि देशलाई भूभाग हस्तान्तरणको दबाब दिन सक्छ भन्ने विषयको यो दुर्लभ अभिव्यक्ति हो । उक्त कार्य कसरी हुन्छ भन्नेबारे केही व्याख्या नगरे पनि ट्रम्पको ह्वाइट हाउसमा प्रवेशसँगै अमेरिकी विदेश नीतिमा परिवर्तन हुने संकेत हो । यसअघि ट्रम्पले पनामा नहर अमेरिकाको लागि महत्त्वपूर्ण राष्ट्रिय सम्पत्ति भएको बताएका थिए । ‘यदि ढुवानी दरहरू घटाइएन भने पनामा नहर हामीलाई छिटो र कुनै सर्तबिना नै फिर्ता गर्न माग गर्नेछौं ‘ ट्रम्पले भने थिए ।
यो पनामा गणतन्त्रको साँघुरो घाँटीमार्फत एट्लान्टिक र प्रशान्त महासागर जोड्ने मानवनिर्मित नहर हो । नहर निर्माणपछि अमेरिकाको पूर्वी र पश्चिमी तटबीचको दूरी करिब १२ हजार ८ सय ७५ किमि कम भएको छ । नहरबाट बर्सेनि करिब १४ हजार पानीजहाज आवतजावत गर्ने गर्छन् । नहर पार गर्न पानीजहाजलाई ८ देखि १० घण्टा लाग्छ ।
८२ किलोमिटर लामो नहर वर्षौं लगाएर निर्माण गरिएको थियो । नहर निर्माणको जिम्मा लिएको फ्रान्सेली कम्पनीले १८८२ को जनवारीमा काम सुरू गरेको थियो । तर सोचेअनुसार कामको प्रगति नभएपछि १९०४ मेमा अमेरिकाले काम थालेको थियो ।
सन् १९१४ अगस्ट १५ मा खुला गरिएको नहर अमेरिकाले सन् १९९९ डिसेम्बर ३१ पनामालाई हस्तान्तरण गरेको थियो । अमेरिकी राष्ट्रपति जिम्मी कार्टर र पनामाका जर्नेल ओमर टोरियोसबीच १९७७ मा भएको सम्झौताअनुसार अमेरिकाले नहर हस्तान्तरण गरेको थियो ।
नहर निर्माणका क्रममा २५ हजार ६ सय कामदारको ज्यान गएको थियो । तीमध्ये अधिकांशको मलेरिया र ज्वरोका कारण मृत्यु भएको थियो ।