सुर्खेत । नेपालमा सहकारी प्रतिको दृष्टिकोण बदलिएको छ । पछिल्ला सार्वजनिक घटनाक्रमहरुले सहकारी संस्थाहरु संकटमा परेको देखाउछन् । तर, केही यस्ता सहकारीहरु निरन्तर चलिरहेका छन् जसले वित्तिय क्षेत्रमा राम्रा प्रयासहरु पनि गरेका छन् । त्यसमध्ये कर्णाली प्रदेशको सुर्खेतमा सञ्चालित वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्थाले सहकारी क्षेत्रमा आफुलाई अब्बल ठानिरहेको छ ।
आजभन्दा २४ वर्ष अगाडी २७ जनाको समूहमा गठन भएको संस्थाले आजका मितिसम्म एक अर्ब २२ करोड ९५ लाख बढीको पूँजी तथा दायित्व निर्माण गरेको छ । जुन संस्थाको वित्तीय प्रगतिमा आएको उल्लेखनीय उपलब्धीका रुपमा संस्थाले दावी गरेको छ । अहिले सुर्खेतस्थित बचत तथा ऋण सहकारी संस्थाहरुमा पुँजी तथा दायित्वका हिसाबले उत्कृष्ठ रहेको उनिहरुको भनाई छ ।
संस्थाका कूल २३ हजार ४८८ शेयर सदस्यबाट ७६ करोड ३२ लाख रुपैँया बचत तथा निक्षेप रहेको संस्थाको तथ्यांक छ । वीरेन्द्रनगर सहितका सुर्खेतका विभिन्न स्थानका १३ वटा सेवा केन्द्रहरुबाट संस्थाले कारोबार गरिरहेको छ । जसमध्ये ९४ करोड ७४ लाख रुपैँया ऋण लगानी गरेको तथ्यांक छ ।
सहकारी संकटका सार्वजनिक खबरप्रति सचेत हुँदै संस्थाले बचतकर्ताको सुरक्षा नीति अबलम्वन गरिरहेको संस्थाका अध्यक्ष बमबहादुर विसीले जानकारी दिए । उनका अनुसार भाका नाघेको ऋणको प्रतिशत घटाउनुका साथै २३ प्रतिशत भन्दा बढी रकम तरलताको हिसाबले मौज्दात राख्ने नीति लिइएको छ । जसले गर्दा आउँदा दिनहरुमा हुनसक्ने संकटलाई थेग्न सकिने अध्यक्ष विसीको विश्वास छ ।
शैक्षिक देखि बैदेशिक रोजगारसम्म लगानी
वीरेन्द्रनगर सहकारीले बैदेशिक रोजगारीमा जाने युवाहरुलाई ऋण लगानी गर्ने गरेको छ । सहकारीका सदस्य रहेका युवाहरुका लागि ऋण दिने गरिएकोे जनाइएको छ । त्यसअन्र्तगत सात जना सदस्यहरुलाई ४८ लाख ८१ हजार रुपैयाँ ऋण दिएको जनाएको छ ।
‘सहकारीले बैदेशिक रोजगारीमा जान चाहने सदस्यहरुका लागि ऋण लगानीको व्यवस्था गरेको छ’ सहकारीका अध्यक्ष विसीले भने, ‘यो सुविधाले सहकारी सदस्यहरु बैदेशिक रोजगारीबाट आयआर्जन गरी जीविकोपार्जन तथा देशमा रेमिट्यान्स भित्र्याइरहेका छन् ।’
सहकारीले उच्च शिक्षा अध्ययन गर्न चाहाने शेयर सदस्यका छोराछोरीमाथि पनि लगानी गर्ने गरेको छ । शेयर सदस्यका छोराछोरीहरुका लागि शैक्षिक ऋण शीर्षकमा ३५ लाख २५ हजार रुपैयाँ लगानी गरिएको तथ्यांक छ ।
सहकारीले कृषि तथा पशुपालनतर्फ एक करोड ६५ लाख ६५ हजार रुपैयाँ लगानी गरेको छ । जसबाट तरकारी खेती, कुखुरापालन, बाख्रापालन, भैसीपालन व्यवसायमार्फत शेयर सदस्यहरुलाई स्वरोजगार बनाउने लक्ष्य रहेको जनाइएको छ ।
चालू आर्थिक वर्षको असार १५ सम्म सहकारीले ५७ करोड ८३ लाख रुपैयाँ व्यवसायिक क्षेत्रमा लगानी गरेको तथ्यांक छ । यसबाट प्रदेश राजधानीमा ठूला होटल तथा थोक व्यवसाय सञ्चालन भएको जनाइएको छ ।
सहकारीले ठूलो लगानीबाट रोजगारी सृजना हुनुका साथै ठुला व्यावसायीले तिरेको करले सरकारी आयमा पनि योगदान पुगेको संस्थाको दावी छ ।
यही अवधिमा सहकारीले हायरपर्चेज शीर्षकमा चार करोड ४१ लाख ६८ हजार लगानी गरेको छ । सहकारीले लघुउद्यम शीर्षकमा दुई करोड ९८ लाख ७४ हजार ऋण लगानी गरेको छ भने युवा स्वरोजगार कोषसँगको सहकार्यमा ५८ लाख ५८ हजार २३५ रुपैयाँ शेयर सदस्यहरुलाई लगानी गरेको तथ्यांक छ ।
यस्तो छ वित्तीय अवस्था
सहकारीका प्रमुख कार्यकारी अधिकृत छत्र थापाका अनुसार संस्थाको कूल वित्तीय विवरण एक अर्ब २२ करोड ९५ लाख ४३ हजार ४२८ रुपैयाँको रहेको छ ।
त्यसमध्ये आर्थिक वर्षको असार १५ सम्म विभिन्न शीर्षकमा गरेर ९४ करोड ७४ लाख पाँच हजार ७६८ रुपैयाँ ऋण लगानी रहेको बताए । सहकारीको शेयर पुँजी १५ करोड चार लाख २१ हजार सात सय रुपैयाँ छ भने बचततर्फ ७६ करोड ३२ लाख ४१ हजार ८८८ रुपैयाँ रहेको थापाले जानकारी दिए ।
यस्तै बाह्य ऋण १८ करोड ७६ लाख ९३ हजार ४३२ रुपैयाँ छ भने तिर्नुपर्ने दायित्व तीन लाख ७२ हजार ७८८ रुपैयाँ छ ।
सहकारीसँग असार १५ सम्म ४६ लाख ५० हजार ८१८ रुपैयाँ नगद मौज्दान छ भने बैंक मौज्दात १८ करोड ३७ लाख ४७ हजार ९८८ रुपैयाँ छ । सहकारीसँग स्थिर सम्पत्ति चार करोड ६३ लाख ४५ हजार ३८८ रुपैयाँ छ भने अन्य सम्पत्ति दुई करोड ५२ लाख ९२ हजार ४३२ रुपैयाँ छ ।
उत्कृष्ठ कारोबार गर्नेलाई पुरस्कृत
प्रमुख कार्यकारी अधिकृत थापाका अनुसार सहकारीले आफ्नो २३ औं स्थापना दिवसको अवसरमा विभिन्न बिधामा उत्कृष्ट कारोवार गर्ने ४६७ जना सदस्यलाई पुरस्कार प्रदान गर्दैछ । त्यसका लागि तीन लाख ४८ हजार आठ सय रुपैयाँ बराबरको पुरस्कार प्रदान गर्न लागिएको थापाले बताए ।
सदस्यहरुलाई बचत गर्ने बानीको विकास गराउन बचतमा विविधिकरण गरी आकर्षक प्रतिफल प्राप्त गर्ने गरी हरेक तीन–तीन महिनामा व्याज प्रदान गर्ने गरिएको उनले जानकारी दिए ।
साथै, सहकारीले एक करोडसम्म ऋण लगानीको सीमा तोकेको छ । ‘सदस्यको प्रस्तावित परियोजनाको विश्लेषण गरी उपयुक्त देखिएमा एक करोडसम्म ऋणको सीमा तोकेका छौं’ थापाले भने, ‘संस्थाले सदस्यहरुबाट सा–सानो बचत संकलनमार्फत पुँजीको निर्माण गरी सदस्यहरुको उत्पादन गर्ने क्षमता तथा आयआर्जनमार्फत जीवनस्तर सुधारको लागि सदस्यहरुलाई विभिन्न शीर्षकमा ऋण लगानी गरिरहेका छौं ।’
आठ सहकारीको एकीकृत स्वरुप वीरेन्द्रनगर साकोस
एकल सञ्चालनमा आएको वीरेन्द्रनगर बचत तथा ऋण सहकारी अहिले आठ वटा सहकारीको एकीकृत स्वरुप बनेको छ ।
यो सहकारीसँग पन्चज्योति बचत तथा ऋण सहकारी संस्था, आफन्त ग्रामिण कृषि तथा पशुपालन सहकारी संस्था, जनमैत्री बहुउद्देश्यीय सहकारी संस्था, मालिका बचत तथा ऋण सहकारी संस्था, नब बौद्धिक एकता बचत तथा ऋण सहकारी संस्था, ओयसिस बचत तथा ऋण सहकारी संस्था र अभ्यूदय ग्रामीण बचत तथा ऋण सहकारी संस्थासँग एकीकरण गरिएका छन् । जसबाट अहिले वीरेन्द्रनगर सहकारी जिल्लाकै ठूलो सहकारी बनेको छ ।
४५ शेयर सदस्यलाई सीपमूलक तालिम
सहकारीले चालू आर्थिक वर्षमा ४५ जना शेयर सदस्यहरुलाई सीपमूलक तालिम प्रदान गरेको छ । सदस्यहरुको कारोबारको आधारमा संरक्षित पुँजी फिर्ता कोषवापत नौ लाख ४९ हजार रकम वितरण गरिएको प्रमुख कार्यकारी अधिकृत थापाले जानकारी दिए ।
साथै, चालु आर्थिक वर्षको यो अवधिमा ३६ जना सुत्केरी सदस्यहरुलाई दुई हजारका दरले ७२ हजार सुत्केरी स्याहार खर्च, १० जना मृतक शेयर सदस्यहरुलाई दुई लाख मृत्यु राहत खर्च, दुर्घटना तथा कालगतिले मृत्यु भएका तीन जना शेयर सदस्यहरुका परिवारलाई १० लाख ६५ हजार रुपैयाँ उपलब्ध गराइएको प्रवन्ध निर्देशक थापाले जानकारी दिए ।
‘ऋणी सदस्यको दुर्घटना वा कालगतिले मृत्यु भएमा घरपरिवारका सदस्यलाई ऋणको भार बोक्नु नपरोस् भन्ने हेतुले ऋणको म्यादी बीमा गर्ने परम्परा बसाएका छौं,’ थापाले भने, ‘जसमा यस वर्ष तीन जना सदस्यहरुले उक्त बीमावापतको रकम उपलब्ध गराएका छौं ।’