सुर्खेत। कर्णाली प्रदेशस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले बजेट अभाव झेल्दै आएको छ । प्रदेशको स्वास्थ्य प्रयोगशालाहरुको निगरानी, सञ्चालन र व्यवस्थापन गर्ने जिम्मा पाएको ठूलो संयन्त्र भएपनि बजेट भने न्यून वितरण हुने गरेको छ ।
जनस्वास्थ्य प्रयोगशाला प्रदेश सरकार मातहत रहेको छ । जनस्वास्थ्य प्रयोगशालाको औचित्य र महत्व प्रदेश सरकारले बुझ्न नसकेको सरोकारवालाहरुको बुझाई छ । सरकारले यसलाई शाखाको रुपमा मात्रै राख्न खोजेको उनिहरुको आरोप छ । तर, यो ठूलो आवश्यकताको कार्यालय भएको उनिहरुको बुझाई छ ।
प्रदेशका सम्पूर्ण प्रयोगशालाको मनिटरिङ् सुपरभिजन लगायतका कार्यजिम्मेवारी प्रादेशिक प्रयोगशालालाई छ । प्रदेशले प्रयोगशालामा किन यति विभेदकारी बजेट दिन्छ भन्ने खालको प्रश्न उठ्ने गरेको छ । आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रममा प्रयोगशाला सञ्चालनका लागि तीन लाख रुपैँया मात्रै बजेट विनियोजन गरिएको प्रयोगशालाका सूचना अधिकारी ल्याब टेक्निसियन निरीक्षक कलमकुमार थापाले जानकारी दिए ।
उनका अनुसार कोभिड–१९ का कारण प्रयोगशालाको काम बढेको थियो र त्यसपश्चात महत्वको निरन्तरता बढ्ने अपेक्षा गरिएको थियो । तरपनि, हुन सकेन ।
अहिले प्रयोगशालाबाटै कुनैपनि बिरामीले आफै सिधै जाँच गराउन सक्छन् । उनिहरुको जाँच रिपोर्ट मोबाईलबाटै प्राप्त गर्छन् । अन्य प्रयोगशाला भन्दा छरितो र भरपर्दो माध्यमका रुपमा रिर्पोट आउने गरेको सेवाग्राही बताउछन् । यसरी अहिले दैनिक अनुपातमा २० देखि २५ जनाको परिक्षण हुने गरेको सूचना अधिकारी थापाले बताए ।
योसँगै प्रयोगशालाबाट सबै जिल्लाका प्रयोगशालाको निगरानी, अनुगमन औलो एचआईभी र क्षयरोग जाँचको गुणस्तर परिक्षण गर्नुका साथै महिलाको पाठेघरमा हुने क्यान्सर, एचआईभीको भाइरल लोड परिक्षण, मलेरिया, हेपटाइटिस लगायतको ठूलो जाँच गर्ने तयारी रहेको थापाले बताए । तर, यसका लागि पनि आवश्यक बजेट नभएको उनले जानकारी दिए । चालु आर्थिक वर्षमा थोरै बजेट भएपनि त्यसमध्ये आगामी आर्थिक वर्षमा बजेट घटाइएको छ ।
प्रयोगशालाले कर्मचारी अभावलाई झेलिरहेको छ । ‘कर्णालीमा प्रयोगशाला सम्बन्धि प्राविधिक कर्मचारीको अभाव छ । स्थायी कर्मचारी छैनन् । सेवा समूह र कामको प्रकृति फरक हुँदा पनि अहिले स्वास्थ्य महाशाखा प्रमुखले निर्देशकको जिम्मेवारी बहन गरेको अवस्था छ ।’ सूचना अधिकारी थापाले भने, ‘भौगोलिक विकटताको कारणले नेटवर्किङ हुनै समस्या छ भने जाँचका लागि संकलन गरिएको नमूना नै भण्डारणमा समस्या छ । उपकरण सञ्चालनमा कठिनाई भईरहेको छ । सुर्खेतमा उपलब्ध विद्युतको क्षमता कम बढी हुने र नियमित नहुँदा उपकरण चलाउन समस्या हुने गरेको हो ।’