सुर्खेत । मुगु र हुम्लाबाट २८ जना बालबालिकालाई काठमाडौं तर्फ लैजाँदै गरेका एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुर्खेत प्रहरीले सोमबार राति १२ बजेतिर वीरेन्द्रनगरको तीनकुने चोकबाट ती व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।
बालबालिकालाई कहाँ लिन लागिएको हो ? कसरी ल्याइएको हो ? भन्ने विषयमा प्रहरीले अहिले बुझिरहेको छ । नाम्गेल छिरिङ नाम गरेका व्यक्तिले बौद्धमा लिन लागेको बताउने गरेका छन् ।
‘बालबालिकाका आमाबुबाको आर्थिक अवस्था कमजोर भएको, अभिभावकको सल्लाहले नै उनीहरुलाई ल्याइएको र गुरुले पढाउनुहुन्छ,’ ती व्यक्ति भन्छन्, ‘गुरुलाई आर्थिकको महत्व छैन । उहाँहरुको आमा बुबाले रिक्वेस्ट गरेर हामीले ल्याएको र काठमाडौँ लिने हो ।’ उनले वडाबाट सिफारिस ल्याइएको र दुई वटाको सिफारिस नभएको बताए ।
प्रहरीका अनुसार १६ बालिका र बाँकी बालक छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रुपेश खड्काले बालबालिका लिने व्यक्ति एउटा भरिया जस्तो भएको बताए । उनले भने, ‘कतिबेला केही बोल्ने कतिबेला केही बोल्छ, खासै जानकारी पनि दिन नचाहेको जस्तो देखिन्छ । हामी केही न केही रुपमा सहजिकरण गर्छौँ ।’
ती व्यक्तिले काठमाडौँ कहाँ लिने भन्ने विषयमा पनि प्रष्ट खुलाउन नचाहेको खड्काले बताए । ‘मान्छे नै बेहोसीजस्तो छ,’उनले भने, ‘मुगुमा फोन लागिरहेको अवस्था छैन ।’