सुर्खेत । कर्णाली प्रदेशका सीमामा रहेका प्रहरी चौकी नगद असुली नाकाको रुपमा परिणत हुँदै गएका छन् । यहाँ अवागमन गर्ने सार्वजनिक तथा निजी यातायातका साधनहरुद्वारा प्रहरीले रुपैँया असूलेका हुन् । अतिरिक्त असूलीका लागि उठाउने उक्त रुपैँयाले प्रहरीको चरित्रमाथी प्रश्न उठाएको छ भने ढुक्कले यातायात सञ्चालन हुने वातावरण छैन ।
‘ऋण काँढेर किस्तामा ल्याएको ट्याक्टर हो म कसरी तिर्न सक्छु । राकमदेखि सुर्खेत पुग्दासम्म प्रत्येक नाकामा पाँच सय तिर्नुपर्ने?’ मालिकले आफ्नो ट्याक्टर चालकलाई फोनमा झोक्किदै भने, ‘गाडीको चाबी त्यही प्रहरीलाई दिदेऊ ।’
सडकमा बस्ने प्रहरीले पैसा मागेर हैरान पार्ने गरेको उनले शिलापेपरलाई बताए । तर, उनले आफ्नो पहिचान गोप्य राखिदिन भने । ‘मेरो नाम गोप्य राखिदिनुहोला । नभए, मैले झन धेरै दुःख पाउछु । पुलिसले पख तलाई भन्दै कुर्दो रैछ । अनेक बाहना बनाएर गाडी कुदाउनै नपाउने बनाईदिन्छन् ।’
कर्णाली राजमार्ग अर्न्तगत दैलेखको राकमदेखि सुर्खेतको वीरेन्द्रनगर पुग्दासम्म प्रत्येक नाकामा बस्ने प्रहरीलाई मासिक पाँच सय रुपैँया तिर्ने गरेको उनले बताए । ‘हाम्रो त ट्याक्टर भएकोले पाँच सय हो । अरु फोर्स, बसले हजार तिर्नुपर्छ ।’
उनको भनाई पछि हामीले सुर्खेत आउने र बाहिरिने सडक खण्डमा नियमित चल्ने गाडीसँग बुझ्ने प्रयास ग¥यौं । आफुहरुले प्रहरीलाई महिनावारी पैसा बुझाउने गरेको उनिहरुले बताए ।
उनिहरुले दिएको जानकारी अनुसार नेपालगञ्ज–सुर्खेत सडक खण्डमा नियमित सार्वजनिक यातायातले महिनावारी हजार रुपैँया तिनुपर्छ । कोहलपुर, बबई, छिन्चु र सुब्बाकुना प्रहरीले प्रत्येक ठाउँमा एक हजार रुपैँया असूल्ने गरेका हुन् ।
‘प्रहरी यतिसम्मको तयारीमा हुन्छन् की । कुन गाडीको कहिले महिनावारी दिनुपर्ने हो भनेर लिस्टै बनाएर बसेका हुन्छन् ।’ एक चालकले भने, ‘लिस्टमा लेखेको मितिभित्र पैसा नबुझाएको दिनदेखि जरिवाना ठोक्न सुरु हुन्छ ।’
यस्तै, सुर्खेत–दैलेख सडक खण्डमा पनि सोही प्रक्रियामा प्रहरीले रकम असुलेको पाइएको छ । यातायात चालकहरुले जनाए अनुसार सुर्खेतको कपासे, छेडा, रानीमत्ता, माथिल्लो डुङ्गेश्वर, चुप्रामा पैसा असुली हुने गरेको छ । उनिहरुले सार्वजनिक सवारी साधन फोर्स, बस र जिपबाट महिनावारी एक हजार लिने गरेका हुन् ।
प्रहरीले ढुवानीका ट्रक, ट्याक्टरबाट समेत पैसा असुल्ने गरेका छन् ।
यो क्रम विगत देखि नै चलिरहेको उनिहरु बताउछन् ।
ठाउँकाे ठाउँ कारबाही हुन्छः प्रदेश प्रहरी प्रमुख
कर्णाली प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) भिमप्रसाद ढकालले प्रहरीले त्यसढंगबाट रकम नअसुलेकाे दावी गरेका छन्। उनले त्यसरी रकम काेहीपनि प्रहरी कर्मचारीले मागे तुरून्त आफु वा मातहतकाे निकायले खबर गर्न आग्रह गरे । उनले खबर प्राप्त हुने वित्तिकै ‘ठाउँकाे ठाउँ’ कारबाही गरिने समेत बताए ।
चेकप्वन्टमा हुने रेकर्ड इन्ट्रीले सुरक्षालाइ कसरी मद्दत पुर्याउछ भन्ने हाम्राे प्रश्नमा उनले भने- ‘अाेभरलाेडका कारण हुने सडक दुर्घटना कम गर्न, अन्य अपाराधका घटना हुन नदिन र फरार व्यक्ति पक्राउ गर्न लगायतका कारण सहज हुन्छ।’