सुर्खेत । पछिल्लो समय भान्सा महङ्गो भएको छ । बजारमा भएको मूल्य वृद्धिको कारण उपभोक्ताहरु चर्को मूल्यको मारमा परेको गुनासो आउन थालेको छ ।
गत साउन ३० गते ५५ रुपैँया भएको प्याजको मूल्य अहिले एक सय रुपैँया पुगेको छ । एक साताको अवधिमा ४५ प्रतिशतले मूल्यवृद्धि भएको हो ।
भारतले शनिवारबाट लागू हुने गरी प्याजमा ४० प्रतिशत निर्यात शुल्क लगाएपछि मूल्य वृद्धि भएको अधिकारीहरुको भनाई छ । उनिहरुका अनुसार कर्णालीको बजारमा ९५ प्रतिशत प्याजको भारतबाट आपूर्ति हुने गरेको छ ।
प्याजमात्रै होइन बजारमा टमाटर, आलु, भान्टा, बोडी, फर्सी, लौका, करेला लगायत सबैजसो तरकारीको मूल्य वृद्धि भएको छ । तर, बजारमा तरकारीको मूल्य भने समानान्तर छैन ।
विशेषतः बुलबुले कृषि बजार, हटिया चोक, विरेन्द्रनगरका विभिन्न चोक तथा पसलहरुमा तरकारी विक्रि वितरण हुँदै आएको छ । बुलबुले कृषि बजारभित्रको मूल्यमा एकरुपता भएपनि अन्यत्र भने मनपरी मूल्य लिने गरेको पाइयो ।
कृषि बजार व्यवस्थापन समितिले कृषि उपज वस्तुको विक्रि मूल्य निर्धारण गर्ने गरेको छ । समितिले न्यूनतम् देखि अधिकतम् मूल्य तोक्ने गरेको कृषि बजार, सुर्खेतका व्यवस्थापक केशर रास्कोटीले बताए । उनका अनुसार समितिले तरकारी तथा फलफूलको थोक मूल्य निर्धारण गर्दछ । यसरी निर्धारण भएको थोक मूल्यमा अधिकतम् २० प्रतिशतसम्म बढाएर फुटकर विक्रि गर्न पाईने व्यवस्था छ । तर, कतिपय व्यापारीले भने मनलाग्दी मूल्य लिएको पाइएको हो । विशेषतः बजारमा राखिएको तरकारी र डोकामा डुलाएर बेचिने तरकारीको मूल्यमा भिन्नता देखिएको हो । त्यसअनुसार केही प्रतिनिधीमूलक तरकारीको मुल्यलाई हामीले तुलना गरेका छौं ।
कृषि बजार व्यवस्थापन समितिले अदुवा प्रति किलो थोक मूल्यमा न्यूनतम् १८०, अधिकतम् १९० तोकिएको छ । यसको २० प्रतिशत बढाएर कम्तिमा
तर, बजारमा अधिकतम् मूल्य २५० सम्म पाइयो । लौका न्यूनतम् ३० र अधिकत्म ४५ छ भने बजार मूल्य ८० मा विक्रि भएको पाइयो ।
फर्सीको मूल्य न्यूनतम् ४५ र अधिकतम् ५० रुपैँया निर्धारण भएको छ भने बजारमा अधिकतम् ८० रुपैँया रहेको छ । भान्टा न्यूनतम् ४० र अधिकतम् ६५ रहेको छ भने बजार मूल्य १०० रुपैँयासम्म विक्रिा भईरहेको छ ।
बन्दागोबिको न्यूनतम् ५० र अधिकतम् ६० रहेको छ भने बजार मूल्य अधिकतम् ८० रहेको छ । प्याजको न्यूनतम् ७० र अधिकतम् ८० रहेको छ भने बजार मूल्य १०० रहेको पाइयो । हरियो खुर्सानीको न्यूनतम् मूल्य ४० र अधिकतम् मूल्य ४५ छ भने बजार मूल्य ८० रहेको पाइयो ।
के भन्छन् उपभोक्ता ?
मूल्य सूचीमा एक रुपमा नभएको कारण आफुहरु ठगिएको उपभोक्ताहरुको गुनासो छ । बजारको दरभाउ थाहा नहुँदा व्यापारीले भनेअनुसार मूल्य तिर्न बाध्य भएको उनिहरु बताउछन् । भान्साको तरकारीमै विचौलिया हावी भएको उपभोक्ताहरुको बुझाई छ ।
बजार मूल्यमा एकरुपमा नहुँदा उपभोक्ता र उत्पादक मारमा परेको स्थानीय तिलकबहादुर बुढा बताए । स्याउ किन्न आएका उनले कृषि बजारले निर्धारण गरेको अधिकतम् मूल्यभन्दा ५० रुपैँया बढी तिरेको बताए ।
तरकारीको दैनिकजसो दररेट फरक पर्ने गरेको कृष्णा तामाङले बताईन् । ‘दिनप्रतिदित फरक–फरक मूल्य सुन्दा व्यापारीले ठगेजस्तो लाग्छ ।’ बुधबार आलु, भान्टा लगायतको तरकारी किन्न आएकी उनले कृषि बजारले निर्धारण गरेको मूल्यभन्दा आलुमा प्रतिकिलो ८ रुपैँया र भान्टामा प्रतिकिलो ३५ रुपैँया बढी तिर्नुपरेको जानकारी दिईन् ।
दररेट एउटै भएको भए आफु ठगिएको महसुस नहुने कमला विकले सुनाईन् । ‘कतै एउटा रेट कतै अर्को रेट हुन्छ । यसरी फरक–फरक सुन्दा ठगिएको जस्तो लाग्छ ।’ उनले भनिन्, ‘यसका कारण पनि उपभोक्ता पीरमर्कामा परेका छन् ।’