दैलेख (महाबु) । दैलेखको महाबु गाउँपालिकाका एक हजार ६ सय ४९ जनाले आँखा सम्बन्धि उपचार सेवा लिएका छन् । गाउँपालिकाका ६ वटै वडाका नागरिकले शिविर मार्फत उपचार गराएका हुन् ।
महाबु गाउँपालिका दैलेखको आयोजना तथा तेज केहली एण्ड रोहित फाउण्डेसन र आँखा अस्पताल सुर्खेतको सहकार्यमा आँखा शिविर सञ्चालन गरिएको थियो । बैशाख २२ गते देखि सुरु भएको शिविर २७ गतेसम्म बस्तीस्तरमा सञ्चालन भएको थियो । शिविरमा १६ सय ४९ जनाको आँखा र दुई सय ६० जनाको कान जाँच गरिएको महाबुका स्वास्थ्य शाखा संयोजक राजेश बुढाले जनाए ।
शिविरबाट दुई सय ४८ जनामा मोतिविन्दु छनोट भएको थियो । तीमध्ये एक सय आठ जनाको आँखा अपरेसन गरिएको संयोजक बुढाले बताए । उनिहरुको गैडाबाजस्थित महाबु अस्पतालमा वैशाख २९ देखि ३१ गतेसम्म अपरेसन भएको थियो ।
शिविरमा आँखा अस्पताल सुर्खेतमा कार्यरत नेत्ररोग विशेषज्ञ डाक्टर मन्जु पन्तको नेतृत्वमा चिकित्सक टोली खटिएको थियो ।
कान जाँच गराएका मध्ये ४० जनाको अपरेसनका लागि रेफर गरिएको छ भने २० जनाको कानमा मेशिन प्रयोग गर्नुपर्ने छ ।
शिविरमा आँखा उपचार गराएका विरामीलाई आवश्यकता अनुसार चश्मा वितरण गरिएको छ । उनिहरु सबैको अपरेसन र औषधी निशुल्क वितरण गरिएको संयोजक बुढाले बताए ।