दैलेख (महाबु) । दैलेखको महाबु गाउँपालिकाले ज्येष्ठ नागरिकलाई गाउँघरमै पायक पर्ने स्थानमा स्वास्थ्य उपचार गरेको छ । गाउँपालिकाको ज्येष्ठ नागरिक स्वास्थ्य उपचार कार्यक्रम अन्र्तगत घुम्ती शिविर सञ्चालन गरिएको हो ।
गाउँघर नजिकै पायक पर्ने ठाउँमा उपचार गर्न पाउँदा ज्येष्ठ नागरिकहरु खुशी छन् । ‘हामी खुशी छौं । बुढाबुढी मान्छे अस्पताल जान समस्या थियो । गाउँमै डाक्टर आए । उपचार पायौं ।’ स्थानीय भीम बहादुर शाहीले भने, ‘अब आउने दिनमा पनि बेला–बेला यस्तै कार्यक्रम होस् भन्ने चाहेका छौं ।’
महाबु अस्पतालका मेडिकल अधिकृत (एमविविएस डाक्टर) सहितको टोलीले गाउँपालिकाका विभिन्न स्थानमा घुम्ती शिविर गरिरहेको छ । जसअनुसार माघ २२ र २३ गते टाकुरी र एकपाटे, माघ २४ र २५ गते काँसिकाँधमा शिविर समापन गरिसकेको छ ।
‘अस्पताल जान टाढा पर्छ । हिडेर जान सक्दैनौं । हामी गरिब गाडी जान पनि अलि अप्ठेरै हुन्छ ।’ वृद्धाले भनिन्, ‘६० रुपैँयामा काम गरेर खाने जीवन थियो । अहिले गाउँमै उपचार पायौं । खुशी छौं ।’
यस्तै, आर्थिक अभावमा औषधी उपचार नपाएका ज्येष्ठ नागरिकका लागि राहत महसुस भएको स्थानीय गणेश शाहीले बताए । ‘स्वास्थ्य शिविर भएकोले महिला बालबालिका सबैले डाक्टरसँग उपचार गर्न पाएका छन् ।’
साथै, गाउँपालिकाले ज्येष्ठ नागरिक स्वास्थ्य उपचार कार्यक्रम अन्तरगत नै माघ २६ र २७ गते गिताचौर र वडा कार्यालय, माघ २९ र फागुन १ गते बाँसी, फागुन २ र ३ गते २ नं. वडा कार्यालय र बडाखोला स्वास्थ्य चौकी, फागुन ४ र ५ गते खरिगैरा वडा कार्यालयमा शिविर संचालन गर्ने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रमेश दशौंदीले जानकारी दिए । उनका अनुसार टाकुरीमा एक सय २५ जना, एकपाटेमा एक सय ५७ जना, काँसिकाँधमा दुई सय आठ जनाले स्वास्थ्य उपचार सेवा लिएका छन् ।
ज्येष्ठ नागरिकका लागि घरदैलोमै उपचार सेवा प्रदान गर्ने उद्देश्यले घुम्ती सेवा सुचारु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयराज उपाध्यायले बताए ।
घुम्ती शिविरमा मेडिकल अधिकृतको नेतृत्वमा स्वास्थ्यकर्मीहरुबाट रक्तचाप, मधुमेह, नाँडीको गति, अक्सिजन लेवल, लगायतका सामान्य स्वास्थ्य चेकजाँच भैरहेको छ । स्वास्थ्य परिक्षण गरी आवश्यक औषधी समेत वितरण गरिएको छ ।
पदभार ग्रहण गर्नेदिन मै ज्येष्ठ नागरिकलाई गाउँघरमै स्वास्थ्य उपचार गर्ने घोषणा गरेअनुरुप निर्णय कार्यान्वयनमा ल्याएको गाउँपालिका अध्यक्ष लछुमन गुरुङले बताए ।
निर्वाचनमा जनतामाझ गरेका प्रतिवद्धता कार्यान्वयन गर्ने चरणमा ज्येष्ठ नागरिकको उपचार र सामाजिक सुरक्षा भत्ता वितरण कार्य गाउँघरमै पायक पर्ने स्थानमा वितरण गरिएको उपाध्यक्ष मन्जुकुमारी शर्मा (पाण्डे)ले बताईन् ।