सुर्खेत। कर्णाली प्रदेश प्रहरी कार्यालयले आत्महत्या रोकथाम सम्बन्धि प्रदेशस्तरीय सचेतना कार्यक्रम आयोजना गरेको छ। आईतबार प्रदेश राजधानी वीरेन्द्रनगरमा उक्त कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रममा बोल्दै कर्णालीका आन्तरिक मामिला तथा कानुन मन्त्री हिम बहादुर शाहीले निराशालाई साहसमा रुपान्तरण गर्न सके आत्महत्या न्युनीकरण हुने बताए।
‘आत्महत्याका घटना कम गर्न सचेतना जगाउन आवश्यक देखिन्छ । सचेतनाको कमीले गर्दा यस्ता घटना हुने गरेको पाइन्छ ।’ मन्त्री शाहीले भन्नुभयो, ‘आवेगमा हुने आत्महत्यालाई धैर्यता र निराशालाई साहसमा रुपान्तरण गरिनुपर्छ ।’
कार्यक्रममा मुख्यन्यायाधीवक्ता ध्रुव कुमार श्रेष्ठले आत्महत्या कम गराउन सचेतना कार्यक्रमसँगै बालबालिका र परिवारका सदस्यमा अभिभावकहरुले निगरानी बढाउनु पर्ने बताए।
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी पोषराज पोखरेलले कर्णाली प्रदेशमा पनि आत्महत्याको संख्या वर्षेनी बढ्दो क्रममा रहेको जानकारी दिए। उनले कर्णाली प्रदेशका लागि आत्महत्या समस्याको रूपमा देखा पर्न थालेको भन्दै यसलाई कम गर्न व्यक्तिगत, व्यावसायिक र सांगठनीक तवरबाट लाग्न जरुरी भएको बताए।
यसैगरि, कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले मानवीय स्वास्थ्य महत्वपूर्ण विकास हुने भएकोले यसलाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताईन्।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले पारिवारिक, सामाजिक र वैयक्तिक कारणले आत्महत्याका घटना हुने गरेको बताए।
प्रजिअ रिजालका सुर्खेत जिल्लामा २०७६ सालमा एक सय ३०, २०७७ सालमा एक सय २६ र २०७८ सालमा एक सय एक आत्महत्याका घटना भएको छन् । सुर्खेतमा देखासिकी, बालबालिकाको लागि अभिभावकले समय नदिनु, नैतिक शिक्षाको अभाव हुनु आत्महत्याको प्रमुख कारण देखिएका छन् ।
कार्यक्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत मनोरोग विशेषज्ञ डा. रोशनी खत्रीले पछिल्लो सात वर्षमा कर्णालीमा एक हजार चार सय १३ आत्महत्याका घटना भएको जानकारी दिईन्।
गरिबी तथा आर्थिक अभाव, दीर्घरोगी, प्रेम असफलता, नैरस्यता, मानसिक तनाव, घरेलु हिंसा तथा पारिवारिक कलह, आवेश, वैदेशिक रोजगार, सामाजिक संजाल र जीवनमा असफलता एकलोकपनका कारण आत्महत्या हुने गरेको डा. खत्रीले बताईन्।