काठमाण्डौं। बाँकेको कोहलपुरका २१ वर्षीय सर्जन विकको योजनाबद्ध रूपमा हत्या गरी बीमा कम्पनीबाट भुक्तानी लिने ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। ठूलो रकमको बीमा गरेर युवकको योजनाबद्ध हत्या गरी भुक्तानीसमेत लिइसकेका ६ जना दोषीलाई प्रहरीले सार्वजनिक गरेको हो।
काठमाण्डौमा आज शुक्रवार पत्रकार सम्मेलन गरेर प्रहरी प्रधान कार्यालय अन्तर्गत केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ परेका दुई जना महिला र चार जना पुरुषलाई सार्वजनिक हो।
पक्राउ पर्नेमा मृतकसँग नक्कली विवाह गरी बीमाबाट प्राप्त दुई करोड ५० लाख रुपैयाँ लिएकी २१ वर्षीया सपना मल्ल, मुख्य योजनाकार ३१ वर्षीय सञ्जीव अर्याल, सञ्जीव अर्यालसँग पूर्व चिनजान एवम् बीमा एजेन्ट ३२ वर्षका सरदार अहमद खाँ, सपना मल्ललाई विदेश लैजाने भनी चिनाइएका व्यक्ति ३३ वर्षका टोपबहादुर राना क्षेत्री, काठमाण्डौमा बीमाको भुक्तानी लिन सपना मल्ललाई ल्याउने ३८ वर्षका दीपक केसी र विवाह गरेर विदेश जाँदा फाइदा हुन्छ भनेर प्रतिवादी सपना मल्ललाई सञ्जीवसँग चिनजान गराउने वर्ष २१ की ललिता सापकोटा रहेका छन्।
यो समूहले गरिब परिवारका विकको परिवारलाई डिपेन्डेन्ट भिसामा अस्ट्रेलिया लैजाने भन्दै नक्कली विवाह गराइ दुई करोड ५० लाख रुपैयाँको बीमासमेत गराएको पाइएको छ। नक्कली विवाह गरी इच्छाइएको व्यक्तिको नाममा नक्कली श्रीमतीको नाम राखेर बैंक खाता खोलिएको र बीमा गराइएको पाइएको हाे।
वार्षिक आम्दानी दुई लाख रुपैयाँमात्रै भएका युवकको दुई करोड ५० लाख रुपैयाँ बराबरको बीमा गराइएको र ती युवकलाई योजनामै हत्या गरिएको पाइएको छ।
हत्यापछि इन्सुरेन्सबाट आएको पैसा उनीहरूले बाँडेर लिएकाे पाइएकाे छ।
सपना मल्लको खातामा आएको दुई करोड ५० लाख रुपैयाँमा ८० लाख ३६ हजार रुपैयाँ सञ्जीव अर्यालको खातामा, ६० लाख दीपक केसीको खातामा, सपनाकी आमा छविकुमारी मल्लको खातामा १७ लाख ४६ हजार, सपना मल्लाको खातामा ४६ लाख ८९ हजार पुगेको प्रहरीकाे भनाइ छ।
प्रहरीका अनुसार त्यो रकमबाट तीन लाख तीन हजार पाँच सय एटीएम कार्डबाट निकालिएको, दुई लाख ६९ हजार नौ सय स्वाइप गरेर निकालिएको र पाँच हजार तीन सय १६ रुपैयाँ रिचार्ज गरिएको पाइएको छ। मृतकसँग एक पटक विवाह दर्ताका बेलामा मात्रै भेट भएकोले विवाह नक्कली भएको प्रमाणित हुने छ।
दुई करोड ५० लाख रुपैयाँ बराबरको इन्सुरेन्स गराइएका सर्जन विकको २०७८ वैशाख २ गते बाँकेको कोहलपुरमा मोटरसाइकल दुर्घटनामा ज्यान गएको बताइएको थियो। मोटरसाइकल चलाउने लाइसेन्ससमेत नभएका विकलाई टोपबहादुर राना क्षेत्री भन्ने व्यक्तिले चलाएको मिनीबसले ठक्कर दिएपछि विकको ज्यान गएको थियो।
दुर्घटनामा विकको ज्यान गएपछि क्षेत्रीमाथि इलाका प्रहरी कार्यालय कोहलपुरबाट सवारी ज्यान मुद्दा चलाइएकामा २०७८ माघ २५ मा फैसला हुँदा उनलाई एक महिना कैद र दुई हजार रुपैयाँ जरिबाना गरी छाडिएको थियो। मुद्दा सकिएलगत्तै प्रहरी प्रतिवेदनका आधारमा मृत्यु दर्ता, दुर्घटनाको प्रमाण आदि पेस गरी यो समूहले रिलायन्स इन्सुरेन्सबाट दुई करोड ५० लाख रुपैयाँ भुक्तानी लिएका थिए।