मधेश। चालु आर्थिक वर्ष सकिनै लाग्दा मधेस प्रदेश सरकारले एकै दिन करिब ५ अर्ब रुपैयाँ भुक्तानी गरेको छ । प्रदेश सरकारले असार २५ मा ४ अर्ब ८९ करोड रुपैयाँभन्दा बढी भुक्तानी गरेको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । यो चालु आवमा प्रदेश सरकारले गरेको कुल खर्चको १४ दशमलव ४ प्रतिशत हो ।
चालु आव २०७८/७९ का लागि विनियोजित ३४ अर्ब ८८ करोड ९८ लाख बजेटमध्ये असार २५ सम्ममा २२ अर्ब ३४ करोड २९ लाख रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ । यो कुल बजेटको ६४ दशमलव ०४ प्रतिशत हो । चालु आवको ११ महिना (जेठ मसान्त) सम्ममा ३३ दशमलव ३६ प्रतिशत मात्र खर्च गरेको प्रदेश सरकारले असारका २५ दिनमा १० अर्ब ९२ करोड रुपैयाँभन्दा बढी खर्च गर्न भ्याएको छ ।
प्रदेश सरकारले चालु आवमा चालु खर्चतर्फ १५ अर्ब ३१ करोड ९१ लाख विनियोजन गरेकामा हालसम्म १० अर्ब ४० करोड ४२ लाख अर्थात् ६७ दशमलव ९२ प्रतिशत खर्च भएको छ । पुँजीगततर्फ विनियोजित १९ अर्ब ५७ करोड ६ लाखमा ११ अर्ब ९२ करोड ८७ लाख अर्थात् ६१ प्रतिशत खर्च भएको कोष कार्यालयले जनाएको छ ।
जेठ ३० सम्म मधेस सरकारले कुल बजेटको ३३ दशमलव ३६ प्रतिशत मात्र खर्च गर्न सकेको थियो । यसमा पनि चालुतर्फको कुल वजेटको ४४ दशमलव ५४ प्रतिशत तथा पुँजीगततर्फ २४ दशमलव ४७ प्रतिशतमात्र खर्च गर्न सकेको थियो ।