सुर्खेत । जलाधार, उपजलाधार प्राथमिकीकरण एवम् व्यवस्थापन योजना निर्माण सम्बन्धी जिल्लागत अन्तरक्रिया कार्यक्रम सुर्खेतमा आयाेजना गरिएको छ । जिल्ला समन्वय समिति सुर्खेतको समन्वयमा भु तथा जलाधारा व्यवस्थापन कार्यालय सुर्खेतले अन्तरक्रिया कार्यक्रम गरेको हो ।
जलाधार तथा उपजलाधारा क्षेत्रका विषयमा सुर्खेत जिल्लाको वस्तुस्थितिबारे जानकारी दिनुका साथै तीनवटै तहका सरकारको भूमिका, नीति निर्माण, योजना र कार्यान्वयनका सम्बन्धमा अन्तरक्रिया गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको भु संरक्षण तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख शेर बहादुर श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार अन्तरक्रिया कार्यक्रमबाट आगामी आर्थिक वर्षका लागि सुर्खेत जिल्लामा कार्यान्वयन गरिनुपर्ने आवश्यक योजनाका सम्बन्धमा समेत छलफल गरिएको छ ।
भू जलाधारका व्यवस्थापनका लागि आवश्यक योजना निर्माण गरि कार्यान्वयनमा ल्याउन पहल गर्ने उद्योग पर्यटन वन तथा वातावरण मन्त्री छिरिङ डम्डुल लामाले बताए ।
उनले भू संरक्षणका लागि प्रदेश सरकारले योजना बनाएर अघि बढ्ने जानकारी दिए । ‘भू जलाधार क्षेत्रको संरक्षण गर्नका लागि समयमै उचीत अध्ययन गर्न आवश्यक रहेको छ’ मन्त्री लामाले भने, ‘यसका लागि आवश्यक नीति निर्माण र योजना बनाउन तयार छु ।’
कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव मोहनदेव जोशीले भूमि र जलस्रोतको विवेकपूर्ण प्रयोग आजको आवश्यकता भएको बताए । उनले संवेदनशील क्षेत्रगत आयोजनालाई मागको आधारमा नभएर आवश्यकताका आधारमा योजना कार्यान्वयन गरिनुपर्ने बताए ।
अन्तरक्रिया कार्यक्रममा अध्यक्षता ग्रहण गरेका जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख छविलाल सिग्देलले भू जलाधार संरक्षणमा तीनवटै तहले भूमिका निर्वाह गर्नुपर्ने बताए । ‘तीन वटै तहले नीति निर्माण र कार्यान्वयनमा समन्वय गर्नुपर्दछ ।’ सिग्देलले भने, ‘एकले अर्कोबाट पन्छिन खोजेको जस्तो देखिन्छ । सबै सरोकारवाला निकायको समन्वय र सहकार्य हुन आवश्यक देखिएको छ ।’
अन्तरक्रिया कार्यक्रममा भूगर्भविद् डाक्टर प्रदीप पौडेलले कर्णाली प्रदेशको जलवायू परिवर्तनको अवस्थाबारे जानकारी गराएका थिए ।
पौडेलले कर्णालीको भूउपयोग, भौगर्भिक स्थिति, वर्षाको स्थिति, सुर्खेत जिल्लामा पहिरोको वितरण, पहिरोका जोखित क्षेत्र लगायतका विषयमा जानकारी गराएका थिए ।
यस्तै, कन्सल्टेन्ट निरज तिमिल्सेनाले सुर्खेत जिल्लामा अवस्थित जलाधार क्षेत्रको स्थिति विश्लेषणका सम्बन्धमा प्रकाश पारेका थिए । उनले सुर्खेत जिल्लाको जलवायु परिवर्तनको अवस्था, जलाधारको चित्रण, भौगोलिक अवस्था, जल–जैविक अवस्थिति, विपत पहिरो, सुक्खा क्षेत्र, बाढी पोखरी लगायतका विषयमा जानकारी गराएका थिए ।
यस्तै, कार्यक्रममा कार्यक्रममा जलाधार तथा उप जलाधार व्यवस्थापनका विषयमा कन्स्ल्टेन्ट टिमका रविन बोगटीले जानकारी गराए । उनले जलाधार व्यवस्थापन गर्न सरकार र सरोकारवाला निकायको भुमिकाका बारेमा समेत जानकारी दिए ।
साथै, अन्तरक्रिया कार्यक्रममा विभिन्न विधागत रुपमा ग्रुप छलफल समेत गरिएको थियो । जसअन्तरगत वन तथा भु संरक्षण र पर्यटन, सडक पूर्वाधार र वस्ती विकास, सिचाई जलउपयोग र फोहोर व्यवस्थापन, कृषि तथा पशुपालन सम्बन्धी ग्रुप छलफल गरिएको थियो । छलफलबाट जिल्लामा अवगत विद्यमान अवस्था, समस्या, चुनौती र यसका समाधानका विषयमा निष्कर्श निकालिएको थियो ।
सम्बन्धित समाचार :