सुर्खेत । आसमान नेपालले शिक्षामा लैंगिक उत्तरदायी र समावेशीकरण विषयक बृहत सरोकारवाहरुबीच नीति संवाद कार्यक्रम आयोजना गरेको छ । बिहीबार प्रदेश राजधानी वीरेन्द्रनगरमा आयोजित नीति संवाद कार्यक्रममा सुर्खेतका तीन वटा स्थानीय तहका सरोकारवालाहरुले सहभागिता जनाएका छन् ।
भेरीगङ्गा नगरपालिका, लेकबेशी नगरपालिका र गुर्भाकोट नगरपालिकाका शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका र कृषि शाखाका प्रमुख एवम् प्रतिनिधीहरुले संवादमा भाग लिएका छन् । उनिहरुसहित ती स्थानीय तहमा रहेका विद्यालयका प्रधानाध्यापक, बालक्लवहरु लगायतको उपस्थिति जनाएका छन् ।
आसमान नेपाल सुर्खेतका कार्यक्रम संयोजक सुनिता बोहोराका अनुसार शिक्षा प्रणालीलाई लैंगिक एवम् समावेशी बनाउने उद्देश्यले उक्त नीति संवाद कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमम कार्यान्वयनका क्रममा भोग्नुपरेको समस्याका बारेमा वक्ताहरुले प्रस्तुती राखेका थिए ।
लैंगिकमुखी तथा समावेशी शिक्षाका लागि योजना निर्माण गर्ने, औपचारिक शिक्षाबाट बञ्चित भएको बालबालिकाको तथ्यांक संकलन गर्ने, अपाङ्ग तथा छात्र–छात्रामैत्री संरचना निर्माण गर्ने, पाठ्यपुस्तक तथा सिकाई सामाग्रीको व्यवस्था गर्ने, शिक्षक विद्यार्थी अनुपात मिलाउने लगायतका कार्ययोजना बनाउन आवश्यक ठानिएको छ । सोही अनुरुप आगामी दिनमा सबै सम्बद्ध निकायले काम गर्नेगरी छ महिने प्रतिबद्धता समेत जनाइएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई सुर्खेतका प्रमुख महेश देवकोटाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रमबारे स्वागत तथा उद्देश्य माथी आसमान नेपालका कर्णाली प्रदेश संयोजक उपेन्द्र भण्डारीले प्रकास पारेका थिए ।
साथै, कार्यक्रमको समापन लेकवेशी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदम लामिछानेले गरेका थिए ।
कार्यक्रमको स्रोत व्यक्तिका रुपमा बालअधिकारकर्मी सन्जोग ठकुरीले सरोकारवाला नेपालका विद्यमान ऐन, कानून तथा राष्ट्रिय तथा अर्न्तराष्ट्रिय अभ्यासहरुका बारेमा प्रस्तुती दिएका थिए । उनले कसरी फरक–फरक रुपमा सरोकारवालाहरुले शिक्षालाई लैंगिकमुखी र समावेशी बनाउन सकिन्छ भन्ने केही उदाहरण प्रस्तुत गरेका थिए ।
४० जना सहभागी रहेको उक्त कार्यक्रमको सञ्चालन तथा सहजीकरण आसमान नेपालका सुर्खेत जिल्ला संयोजक सुनिता बोहराले गरेकी थिईन् ।
ब्रिटीस काउन्सिल र भिएसओको आर्थिक सहयोगमा आसमान नेपालद्वारा सञ्चालित जिइएमएस परियोजना अर्न्तगत नीति संवाद कार्यक्रम गरिएको जनाइएको छ ।
सम्बन्धित समाचारः