काठमाडौँ । रोजगार अनुमति प्रणाली (ईपीएस) मा छनोट भएर भिसा लागेका १४ सय श्रमिक टिकट नपाउँदा कोरिया उड्नबाट रोकिएका छन् । टिकट उपलब्ध गराउने जिम्मेवारी पाएको कोरियन एयरको जिएसए युनिभर्सल टुर एण्ड ट्राभलले हवाई टिकट उपलब्ध गराउन नसक्दा श्रमिकहरूको हवाई उडान प्रभावित बन्दै आएको छ ।
वैदेशिक रोजगार विभाग, ईपीएस शाखाका प्रवक्ता कमलराज श्रेष्ठले श्रमिक उडाउने जिम्मेवारी पाएको युनिभर्सल टुर एण्ड ट्राभललाई छिटो पठाउन ताकेता गरिराखिएको बताए ।
कोरिया जाने श्रमिकले ट्रान्जिट प्रयोग गर्न पाइँदैन । युनिभर्सलले एउटा टिकटको ८ सय ९५ डलर (करिब १ लाख १९ हजार रुपैयाँ) मा श्रमिक उडाउने टेन्डर पाएको थियो । युनिभर्सलले हाल कोरिया जाने नियमित श्रमिकबाहेकलाई सरदर एकलाख ५० हजार रुपैयाँमा उपलब्ध टिकट बेचिरहेको छ ।
गत साउन एकदेखि कार्तिक ३० गतेसम्म ३१ सय ७२ जना श्रमिक कोरिया उडिसकेका छन् । उत्पादन क्षेत्रमा ८ हजार एकसय ५१, कृषि क्षेत्रमा ८ हजार ५ सय, पानी जहाज निर्माण क्षेत्रमा चार हजार गरी २० हजार ६ सय ५१ जना रोष्टरको सूचीमा छन् । उनीहरूलाई रोजगारदाताले छनोट गर्न बाँकी छ ।