बालिका तथा समावेशी शिक्षा सम्बन्धी कर्णालीमा अभिमुखीकरण

सुर्खेत । प्रदेश तथा स्थानीय तहमा बालिका तथा समावेशी शिक्षा सञ्जाल विस्तार र क्षमता विकास सम्बन्धि तालिम आयोजना गरिएको छ । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा मंसिर ५ गते (सोमबार) देखि सुरु भएको उक्त तालिम मंसिर ७ गते (बिहिबार) समापन भएको हो ।
नेपाल सरकारको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगत शिक्षा तथा मानव स्राेत विकास केन्द्रको आयोजनामा भएको उक्त तालिमका लागि आसमान नेपाल, पिन, ब्रिटीस काउन्सील, सेभ द चिल्ड्रेन र भिएसओको आर्थिक सहयोग तथा सहकार्य रहेको थियो ।

बालिका तथा समावेशी शिक्षा सम्बन्धी स्थानीय तहको भूमिकाका विषयमा अभिमुखीकरण गर्न तालिम आयोजना गरिएको आसमान नेपाल सुर्खेतका कार्यक्रम संयोजक सुनिता बोहोराले जानकारी दिईन् । बालिका तथा समावेशी शिक्षाका लागि पालिकामा गठन भएका पदाधिकारीलाई यसको काम कर्तत्व र अधिकार सम्बन्धि जानकारी गराउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको बोहोराले बताईन् ।
उनका अनुसार मुख्य गरी नेपाल सरकारले निर्माण गरेको बालिका तथा समावेशी शिक्षा सम्बन्धी कार्यक्रम अन्तरगत कसरी समुदाय तहमा महिला तथा बालिकाको शिक्षामा सहभागिता बढाउन सकिन्छ भन्ने विषयमा केन्द्रीत थियो ।
तालिमममा सुर्खेत, दैलेख, जुम्ला, कालीकाेट, अछाम, बाँके र जाजरकाेट लगायतका जिल्लाहरूका स्थानीय तहका उपप्रमुख/उपाध्यक्ष सहित शिक्षा शाखा र महिला तथा बालबालिका शाखाकाे सहभागिता रहेकाे थियाे।
तालिमकाे औपचारिक उद्घाटन कर्णाली प्रदेश समाजिक विकास मन्त्रालयका शिक्षा महाशाखा प्रमुख जवलाल हमालले गरेका थिए ।